रश्मिलाले ‘मि टु’को मिस युज त गरिनन् कतै ! स्थापितसँगको सम्बन्धबारे नयाँ खुलासा
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितलाई आफूसँग सम्बन्ध राख्न नदिँदा जागिरबाट हात धुनु परेको भन्ने आरोप लगाउने रश्मिला प्रजापतिको दावी झुठ भएको महानगरपालिकाले उल्लेख गरेकाे छ ।
महानगरपालिकाका प्रवक्त ज्ञानेन्द्र कार्कीद्वारा कात्तिक १२ मा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘रश्मिलाले कामनपामा आन्दोलन गर्दाको बखत पूर्वप्रमुख केशव स्थापित यस कार्यालयको प्रमुख पदमा नरहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’
महानगरको दावीअनुसार रश्मिला शाखा अधिकृतका रुपमा अस्थायी नियुक्ति लिएर कार्यरत थिइन् । आर्थिक अनियमितता र कर्मचारीहरुसँग अभद्र व्यवहार गरेको दावी गर्दै महानगरमा रहेको कर्मचारीहरुको युनियनले रश्मिलाविरुद्ध ६० साल साउन १ देखि ४ सम्म आन्दालन गरेको थियो । आन्दोलनका कारण महानगरका कामहरु ठप्प पनि भए । त्यसपछि स्थानीय विकास मन्त्रालयका कर्मचारी, कर्मचारी युनियनका प्रतिनिधि र महानगरबीच त्रिपक्षीय वार्ता भएको विज्ञप्तिमा उल्लेख छ । वार्तापछिको सहमतिमा रश्मिलाबाट भएको अनियमितताको छानविन गर्न एक समिति गठन गर्ने उल्लेख थियो ।
छानविन गर्नु पर्ने भएपछि उनलाई अतिरिक्त समूहमा सरुवा गरिएको थियो । त्यसपछि उनलाई नियमानुशार सेवाबाट हटाइएको महानगरले जनाएको छ ।