यौनसँग जोडिएको गठामुग पर्व सम्पन्न
काठमाडौं । नेवार समुदायमा मनाइने घण्टाकर्ण गठामुग पर्व बुधबार मनाइएको छ ।
विशेष गरी नेवार समुदायले प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप काटमाडौं उपत्यकाका सहरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु-याई जलाएर पर्व मनाएको हो ।
भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक् शैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षसरूपी गठामुग बनाई बाहिर कपडाले मोडेर विभिन्न रङ लगाई राक्षसको स्वरूप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर विसर्जन गरिएको छ ।
भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेसँग जोडिएको बताउँछन् । उनले महादेवलाई मन पराउने राक्षसको रूपमा गठामुग वीर शैव सम्प्रदायअन्तर्गत रहेको बताए ।
श्रावन कृष्ण चतुर्दशीको दिनलाई महादेव उत्पत्ति भएको दिनसमेत मानिने, सो दिनदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडवाडको परम्परा सुरु हुने दिनका रूपमा पनि मानिने श्रेष्ठले बताए ।
गोपाल वंशावलीअनुसार गठामुगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वाससमेत रहेको छ ।
गठामुगलाई यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षसरुपी गठामुगलाई शरीरको रूप दिएर परालबाट लिंग बनाई दुईटा भोगटेको अण्डकोष बनाएर अश्लील नारा लगाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परासमेत रहेको छ ।
घण्टाकर्ण गठामुग