मुख्य समाचार समाज

छिट्टै सञ्चालन हुँदैछ कलङ्की अन्डरपास 

छिट्टै सञ्चालन हुँदैछ कलङ्की अन्डरपास 

काठमाडौं । कोटेश्वर–कलङ्की आठ लेनको सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

 

सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । उनी भन्छन्, ‘तोकिएकै समय अर्थात् आगामी डिसेम्बरमा काम सक्ने गरेर चिनिँया कम्पनी लागिरहेको छ ।’ 

 

निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अन्डर पास’ (भूमिगत सडक) समेत बन्दैछ जुन नेपालको पहिलो हो । कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा आंशिकबाहेक अधिकांश काम सकिएको छ । इञ्जिनियर अर्याल भन्छन्, ‘मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।’ काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ । 

 

बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको इञ्जिनियर अर्यालले बताए । कोटेश्वरदेखि बल्खुसम्म नै एक तह कालोपत्र गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरू र पेन्टिङको काम बाँकी छ । निर्माण कम्पनीले यो सडकले वर्षात् सहन सक्छ या सक्दैन भन्ने समेत नियाँलिरहेको छ । 

 

कलङ्कीको सवारी चाप हटाउने उपायका रूपमा लिइएको ‘अन्डर पास’ को काम सकिएको छ । कलङ्कीदेखि खसीबजारसम्मको ८ सय मिटरमा अन्डर पास निर्माण भएको हो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अन्डर पास छ । अन्डर पास सञ्चालनको तयारी गरिएको छ । उनले भने, ‘दुई÷चार दिनमा नै अन्डर पास सञ्चालनमा आउनेछ ।’

 

चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाईसम्म काम सक्ने योजना गु्रपले गरेको थियो तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बरसम्मको अवधि थप ग-यो । 


निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । झण्डै ६० नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् । पाइप लाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइपहरू समय–समयमा फुट्दा ढिलाइ भइरहको थियो । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । इञ्जिनियर अर्यालले भने, ‘हामीले पटक–पटक भने पनि स्थानीयले घर भत्काउन अटेर गरिरहेका छन् ।’ 

 

मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका सडक छन् । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्रयाक छ जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्रयाक निर्माण नेपाल सरकारले थालेको हो ।

सडकमा चिनियाँ सरकारले तीन वटा आकाशे पुल बनाइसकेको छ । नेपाल सरकारले सात ठाउँमा आकाशे पुल बनाउन थालेको छ । उनले भने, ‘कुनै ठाउँमा जगको काम सकियो भने कतिमा सुरु हुन सकिरहेको छैन ।’ सडकको लागत  एक अर्ब रहेको छ । 

कलङ्की अन्डरपास 

विशेष