मुख्य समाचार समाज

तीनकुने शान्तिमण्डलको काम अघि बढ्न सकेन

तीनकुने शान्तिमण्डलको काम अघि बढ्न सकेन

काठमाडौं । मुआब्जा विवादका कारण तीनकुने शान्तिमण्डलको काम अघि बढ्न सकेको छैन । 

 

तीन वर्ष पहिले नै काठमाडौं महानगरपालिकाले नक्शांकनको काम पनि सम्पन्न गरी तीन वर्षअघि नै सो स्थानमा मण्डल निर्माण गर्ने भनिएको थियो । तीनकुनेमा रहेको ५० रोपनी जग्गामा उक्त मण्डल निर्माण गर्ने तयारी कामपाको भए पनि स्थानीयवासीलाई दिइँदै आएकोे मुआब्जा विवादले गर्दा काम अघि बढ्न नसकेको कामपा, भौतिक पूर्वाधार महाशाखा प्रमुख रामबहादुर थापाले जानकारी दिए । 

 

अत्याधुनिक ‘तीनकुने शान्तिमण्डल’ का लागि यसअघि दिइएको मुआब्जा आफूहरूलाई अपुग छ भन्दै स्थानीयवासीले अडान लिँदै आएका छन् । पच्चीस घरधनीले अहिलेसम्म मुआब्जा लिएका छैनन् । उनीहरूले पहिलेको मुआब्जा पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् । कामपाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ गौतमबुद्धको विशाल मूर्तिसहितको मण्डल निर्माण गर्न लागेको हो । पहिले नै कामपाले बोलपत्रको आह्वान गर्ने तयारीसमेत गरिसकेको थियो । पहिलो पटक केशव स्थापित कामपा प्रमुख भएका बेला उनले ‘काठमाडौंका निर्माता’ मञ्जुश्रीको शालिक राख्ने अडान लिएका थिए । 

 

महानगरको योजनाअनुरूप आगामी ०७६ सालसम्ममा उक्त मण्डल निर्माण सम्पन्न गर्ने तयारी रहे पनि अहिलेसम्म कुनै काम अघि बढ्न सकेको छैन । सो शान्तिमण्डलको बीच भागमा बुद्धको विशाल मूर्ति हुनेछ । मण्डल हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति पनि राखिनेछ । 

 

मूर्तिको वरिपरि रूख–विरुवा रोपिने बताइएको छ । संरचनाको तीनवटै कोणमा चौबीसै घन्टा पानी आउने फोहरा निर्माणको योजना छ । हरेक वर्ष बजेट छुट्याउँदै आएको कामपाले चालू आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ । 


मुआब्जाका विषयमा कुरा मिलेको खण्डमा आवश्यकताअनुसार बजेट थप्न सकिने पनि कामपाले जनाएको छ । पुनः मूल्याङ्कन गर्न अदालतबाट आदेश भए पनि हुन सकेको छैन । 
 

तीनकुने शान्तिमण्डल

विशेष