धरहरा बन्ने दिन आउनै लाग्यो
काठमाडौं । धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको प्रस्ताव तीन पटकसम्म स्थगित भएको छ ।
धरहरा पुनः निर्माणका लागि ६ निर्माण व्यवसायीले प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीमात्र पास भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंकास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति तीन पटकसम्म रोकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए ।
‘छानबिनका काम सकेर साउन २९ गते ११ बजे प्रस्ताव खुला गर्ने तयारी भइरहेको छ’, उनले भने ।
प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक÷लामा जेभी, सिआर ५ सिइसी÷स्वच्छन्द जेभी, कुमार÷सिएफइसी जेभी, जिआइइटीसी÷रमन जेभी, सिआइसिओ÷कालिका÷रसुवा जेभी छन् । जेसीजिआईसिसी÷आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको उनले बताए ।
भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो ।
नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजूरसहित ७२ मिटर अग्लो बन्नेछ ।
भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत चार अर्ब लाग्ने लागत स्टिमेट तयार भएको छ । यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो ।
धरहराका लागि गोश्वारा हुलाक कार्यालयलाई जग्गासमेत खाली गर्ने भएको छ ।