मुख्य समाचार समाज

भक्तपुरमा तार काटिँदा हजारौँको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

भक्तपुरमा तार काटिँदा हजारौँको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । भक्तपुर नगर क्षेत्रको भित्री भागमा अशोभनीय रूपमा रहेका तारहरू हटाउने अभियान सुरु भएको छ । 


स्थानीय जिल्ला प्रशासनको अगुवाइमा नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा शुक्रबार बिहानदेखि जथाभावी टाँगिएर राखेका तारहरू काटिएका हुन् । 


भक्तपुर भित्री सहरको वडा नं. १, २ वडालगायत स्थानीय पर्व मनाइने क्षेत्रमा लट्काएर राखिएका टेलिभिजन, इन्टरनेट र नेपाल टेलिकमका सम्पूर्ण तारहरू काटिएका छन् । 


स्थानीय प्रशासनले नेपाल विद्युत् प्राधिकरणको इलेक्ट्रिक केबुल भने काटेका छैनन् । 


केही दिनअधि स्थानीय प्रमुख जिल्ला अधिकारीको तत्वावधानमा प्राधिकरण, टेलिकम, टेलिभिजन केबुल र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरूको संयुक्त बैठकमा भदौै ३ गतेभित्र अव्यवस्थित तारहरू सम्बन्धित पक्षले व्यवस्थित गर्ने सहमति भएको थियो । तर बैठकमा भएको सहमतिअनुसार सेवा प्रदायकहरूले जिम्मेवारी वहन नगरेकाले शुक्रबारदेखि तार काट्ने अभियान सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ । 


यही भदौ ११ गते स्थानीय गाईजात्रा पर्वअन्तर्गत झाँकी प्रदर्शन गर्दा जथाभावी तारका कारण वाधा पुग्ने भएकाले पनि शुक्रबारदेखि नै तार काट्ने अभियान सुरु भएको हो । 


स्थानीय प्रशासनको तार काट्ने अभियानले हजारौँ स्थानीय वासिन्दाको लाइन ल्यान्ड टेलिफोन, टेलिभिजन केबुल र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । 


स्थानीय प्रशासनद्वारा तार त काटियो तर कहिलेसम्म स्थानीय वासिन्दालाई विकल्पका रूपमा कहिलेसम्म उक्त सेवा उपलब्ध गराउने योजना छ भन्नेसम्बन्धमा नेपाल टेलिकम भक्तपुर शाखाका एक अधिकारीले भने, ‘तार काटिएपछि उत्पन्न समस्याका सम्बन्धमा हेड अफिसमा जानकारी पठाएका छौँ । तत्काल सेवा सुचारु हुने सम्भावना छैन ।’


स्थानीय प्रशासनको टोलीले तार काट्दै हिँडेको अवस्थामा मात्र स्थानीय जनताले आफ्नो टोल र घरका तारहरू काटिँदै छ भन्ने जानकारी पाएका थिए । 


प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारपूर्ण प्रशासन र उत्तरदायी स्थानीय सरकार भन्ने नाराअनुरूप कामको अनुभूति भने भक्तपुरवासीले गर्न पाएनन् । 


विकल्पबिना हठात् तार काट्ने अभियानबाट कतिन्जेल भक्तपुरवासी प्रताडित हुनुपर्ने हो अन्योल छ ।        
 

तारहरू हटाउने अभियान

विशेष