बिम्स्टेक सम्मेलन सुरु, अझै खाल्डाखुल्डी पुर्न सरकारको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सो कार्यालयले मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको पाइएको थियो । सडक विस्तार आयोजना बानेश्वरको जिम्मेवारीमा रहेको उक्त सडक खण्डका केही ठूला खाल्डाखुल्डी पुरिएको भएतापनि अझै सडकमा स–साना खाल्डाखुल्डी देखिएको छ ।
अनुगमनका क्रममा विद्युत् र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिबद्धताअनुसार नभएको पाइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । सडक छेउको नाली तथा पैदल मार्गको मध्यभागमा नयाँ पोल गाडिएको भेटिएको छ । त्यस्तै निर्माण सामग्री यत्रतत्र छरिएर राखिएको अवस्थामा पाइएको थियो ।
कलङ्की–नागढुंगा सडकखण्डमा तुलनात्मक रूपमा सुधारको काम भइरहेको भेटिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन १६ गते कलङ्की¬–नागढुंगा सडक र चाबहिल–जोरपाटी सडक कालोपत्रे र करिडोरका सडकको निर्माण एवं मर्मतसम्भारलाई प्राथमिकता दिई यही भदौ १५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए । उपत्यकाको प्रमुख सडकका खाल्डाखुल्डी तत्काल पुरी मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्नसमेत उनले निर्देशन दिएका थिए ।
सडक विस्तार आयोजना बानेश्वरका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले चाबहिल–जोरपाटी सडक खण्डको सडकमा रहेको खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्