समाज

सार्क र बिम्स्टेक अपरिहार्य र महत्वपूर्ण : प्रधानमन्त्री ओली

सार्क र बिम्स्टेक अपरिहार्य र महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाडीको प्रयास (बिम्स्टेक) दुवै क्षेत्रीय संगठन नेपालको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण भएको बताएका छन् । 

 

बिम्स्टेकको चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका मुलुकलाई जोड्ने दुवै संगठन अपरिहार्य रहेको बताए । 

 

उनले भने, ‘सार्क हामी आफैँले बनाएका हौँ । सार्क र बिम्स्टेक एकअर्कालाई निषेध गर्न र एकअर्काको विकल्पका रूपमा आएका होइनन् । बिम्स्टेक विगतमा सार्क जत्तिको सक्रिय भएन तर पारस्परिक सहयोगलाई बढाउन र साझा समस्या हल गर्दै अगाडि बढ्न अत्यन्त आवश्यक संगठन हो ।’ 

 

सार्क द्रुत गतिमा अघि बढ्न नसकेको भए पनि वर्तमान परिप्रेक्ष्यमा त्यसको आवश्यकता र औचित्य अधिक रहेको बताउँदै उनले सार्कको विकल्प बिम्स्टेक कदापि नहुने स्पष्ट गरे । 

सार्क र बिम्स्टेकमा धेरै समानता र चुनौती रहेका वास्तविकता बताउँदै उनले दुवै संगठनको लक्ष्य र उद्देश्य गरिबी हटाउने, सम्पन्न समाज निर्माण गर्ने, पारस्पारिक सहयोग अभिवृद्धि गर्दै सदस्य मुलुकबीच सडक, रेल, हवाई मार्ग र ‘अप्टिकल फाइबर’ का माध्यमबाट सम्पर्क र सम्बन्ध कायम गरी व्यापार साझेदारी गर्नु हो भने । 

 

बिम्स्टेकको अध्यक्ष राष्ट्रले नेपालले प्रभावकारी रूपमा काम गर्ने, परियोजना कार्यान्वयनमा कुनै किसिमको विलम्ब नगर्ने बताउँदै प्रचलित कूटनीतिक अभ्यासअनुसार हस्तान्तरण हुँदै आएको जानकारी दिए । उनले भने, ‘त्यसैले म प्रधानमन्त्री हुनेबित्तिकै यसको सम्मेलन गरिएको हो ।’ 

 

अवरुद्ध भएको सार्क सम्मेलन आयोजना गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव कूटनीतिक प्रयास गरिरहेको जानकारी दिँदै सम्मेलन आयोजक मुलुक पाकिस्तानले पनि प्रयास गर्नु श्रेयष्कर हुने उनले विचार व्यक्त गरे । ‘यदि कुनै कारणले असमझदारी उत्पन्न भए त्यसलाई समझदारीमा रूपान्तरण गर्नु आवश्यक छ’, उनले भने । 

 


प्रधानमन्त्री ओलीले बिम्स्टेकको इतिहासमा छोटो समयमा तयारी गरेर चौथो शिखर सम्मेलन नेपालमा आयोजना हुन लागेको बताउँदै ओलीले बिम्स्टेक सदस्य देशसँगको पूर्ण सहमति भएको करिब एक महिनाको अवधिमा सम्मेलनको बिहीबार हुँदैछ भन्ने कुरा बताए ।  

 

बिम्स्टेक पारस्पारिक सहयोग र साझेदारीको वातावरण तयार गर्ने, पूर्वाधार विकास, धार्मिक तथा सांस्कृतिक सन्दर्भ नेपालसँग जोडिएको उल्लेख गर्दै उनले बुद्धको जन्मभूमि लुम्बिनीसँग त्यसको सम्बन्ध जोडिएको बताए । 

 

एक प्रसंगमा प्रधानमन्त्रीले विभिन्न मुलुकसँग व्यापार घाटा घटाउने, निर्यात प्रवद्र्धन गर्ने, आयात प्रतिस्थापन, युवालाई स्वदेशमै रोजगारीको सरकारले उच्च प्राथमिकतामा राखेको र तदनुरूप कार्यसम्पादन गरिरहेको प्रष्ट पारे । 

 

उनले अथाह जलसम्पदा भएको हाम्रो मुलुक स्वच्छ ऊर्जा उत्पादन गर्ने प्रशस्त सम्भावना भएकाले अधिकभन्दा अधिक विद्युत् उत्पादन गरेर अरू मुलुकलाई बिजुली बिक्री गर्न सकिने बताए । नेपालमा उत्पादित ऊर्जालाई सदस्य मुलुकसँग पु¥याउन सकिने बताउँदै प्रधानमन्त्री ओलीले नेपालको बिजुली म्यान्मासम्म पु¥याउन सकिन्छ भने । उनले भने, ‘विद्युत् बिक्रीका लागि बंगलादेशमा सवस्टेसन निर्माण हुन सक्छ, त्यसपछि म्यान्मासम्म विद्युत् पु¥याउन सकिन्छ ।’ 
 

सार्क र बिम्स्टेक

विशेष