तीन सरकार प्रमुखको आज आगमन हुँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोड सडकमा निषेध
काठमाडौं । बिम्स्टेकको शिखर सम्मेलन– २०१८ को आज (बिहीबार) अपराह्न औपचारिक उद्घाटन हुँदैछ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री बिहीबार मध्याह्नसम्म राजधानी काठमाडौं आइपुग्दै छन् । विशिष्ट पाहुनाको सवारीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा आवतजावत एवं कुनै पनि प्रकारको सवारीसाधन सञ्चालनमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्भवतः अहिले बिहान ७ः४५ देखि १० बजेसम्म उक्त क्षेत्रमा यातायात सञ्चालन नहुने बताइएको छ । यसैगरी कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु सोल्टीमोड क्षेत्रका मार्गमा पनि सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बिम्स्टेक सम्मलेनमा भाग लिन आएका पाहुनाहरूको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आज मध्याह्न दिवाभोजको आयोजना गर्ने भएका छन् । यसअघि म्यान्माका राष्ट्रपति, भुटानका सरकार प्रमुख र श्रीलंकाका राष्ट्रपतिको राजधानी काठमाडौं आगमन भइसकेको छ ।