राजनीति

अब १२ वर्षमात्रै गगन थापाले राजनीति गर्ने 

अब १२ वर्षमात्रै गगन थापाले राजनीति गर्ने 

काठमाडौं  । युवा नेता गगन थापाले अबका १२ वर्षमात्रै राजनीतिमा सक्रिय रहने घोषणा गरेका छन् । कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले आफू ५५ वर्षको उमेरसम्म मात्रै राजनीतिमा क्रियाशील हुने बताउँदै आएका थिए । 

 

एपीवान टेलिभिजनको एक कार्यक्रममा पनि उनले यो जानकारी दोहोर्याएका छन् । सन् १९७६ जुलाई १६ मा जन्मेका गगन अहिले ४३ वर्षका भए । अबको १२ वर्षपछि उनी ५५ वर्ष पुग्नेछन् । बुढाहरुले युवाहरुको बाटो रोक्नु हुँदैन भन्ने मत राख्ने गगनले ५५ वर्ष भएपछि राजनीतिबाट सन्यास लिएर निजी जीवन जिउने उद्घोष गरेका छन् । 

 

यो हिसाबले अबको दुई वटा निर्वाचनमा मात्रै गगनले उम्मेदवारी दिनेछन् । उनको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  ७० काटिसके । पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले सभापति हुँदै प्राण त्यागे तर पद त्यागेनन् । 

 

नेपालीहरुको औसत आयु नै ६९ वर्ष पुगिसकेको अवस्थामा गगनको ५५ वर्षे अवकाशको निर्णय केही अनौठो पनि छ । किनभने सरकारी सेवामा पनि ५८/६० वर्षसम्म काम गर्न पाइन्छ । 
 

विशेष