चीनले अतिक्रमण गरेको जमिन फिर्ता गराउन माग
काठमाडौं । सीमा संरक्षण संघर्ष समितिले चीनले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गराउन माग गरेको छ । सो समितिले शुक्रबार नापी विभागमा ज्ञापनपत्र बुझाउँदै चीनले अतिक्रमण गरेका सबै भूभाग तत्काल फिर्ता गराउन माग गरेको हो ।
सीमा संरक्षण संघर्ष समितिका संयोजक सीता ज्योतिद्वारा हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा चीनतर्फबाट नेपाली भुभाग अतिक्रमण भइरहेको विषयमा चाँडै हल नगरे पछि समस्या आउनेमा सतर्क पनि गराएको छ ।
चीनले हुम्लाको फुराङको भाँगदारे खोलाको ६ हेक्टर, हुम्लाकै फुराङको कर्णाली नदीबाट ४ हेक्टर, रसुवाको केरुङस्थित सत्जेन खोला २ हेक्टर, रसुवाकै केरुङको भार्जुग खोलामा १ हेक्टर, रसुवाको जबमु खोलामा ३ हेक्टर, सिन्धुपाल्चोकको भोटेकोशी र खराने खोलामा ७ हेक्टरलगायत जमिन अतिक्रमण गरेको समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।