राजनीति

गम्भीर राजनीतिक दुर्घटनाको संकेत, प्रधानमन्त्रीले प्रचण्डमाथि ‘एक्सन’ लिनसक्ने 

गम्भीर राजनीतिक दुर्घटनाको संकेत, प्रधानमन्त्रीले प्रचण्डमाथि ‘एक्सन’ लिनसक्ने 

मुलुकमा गम्भीर राजनीतिक परिवर्तनको संकेत देखा परेको छ । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीचमै शंका उपशंका बढ्नुकासाथै एक अर्कालाई भित्रभित्रै सिध्याउने खेल सुरु भएपछि राजनीतिक दुर्घटना आंकलन गरिएको हो । 


विश्वस्त श्रोतका अनुसार बुधवार काठमाडौंमा गुठी विधेयकविरुद्ध भएको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली आफनै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग रुष्ट भएका छन् । प्रदर्शनमा पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्तासमेत सहभागी भएपछि ओली प्रचण्डसंग चिढीएका हुन् । 


आफनै पार्टी भित्रबाट असहयोग भएपछि रन्थनिएका प्रधानमन्त्री ओलीले यसअघि वरिष्ठ नेता माधव नेपाललाई आफूलाई सहयोग नगरे पार्टी एकता पनि अघि नबढ्ने र संसद् पनि भंग हुनसक्ने चेतावनी दिएका थिए । 


अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. सशांक कोइराला लगायत नेताहरुसंग  बाक्लो भेटघाट भैरहेको सूचना पाएपछि प्रधानमन्त्री ओली सशंकित भएका छन् । उनले यी दुई विषय उठाएर प्रचण्डमाथि एक्सन लिनसक्ने बताइएको छ ।

 
यो विषयमा बुधवार बिहान र दिउँसो पटक–पटक ओली र दाहालबीच छलफल भएको थियो । जति छलफल भएपनि त्यो मन माझ्नु भन्दा पनि रणनीतिक चालका रुपमा मात्र देखिन थालेको छ । 


यसअघि आफू स्वीटजरल्याण्डको भ्रमणमा हुँदा भेनेजुएला प्रकरण र भारतमा हुँदा ५ बुँदे सम्झौताको विषय उछालेर आलोपालो प्रणालीका नाममा सत्ताको सौदावाजी गर्न खोजेको भन्दै ओली प्रचण्डसंग आक्रोशित भएका थिए । 


मंगलबार प्रतिनिधिसभा बैठकमा बिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दा प्रधानमन्त्री ओली निराश भएर फर्किदै गर्दा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । यसअघि नेपाल आजसंग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य एवम सभापति देउवाका विश्वासपात्र मीन विश्वकर्माले प्रचण्डले ओली भन्दा देउवा काम गर्न सहज भनेर आफूहरुसंग भन्ने गरेको खुलासा गरेका थिए । यसले पनि ‘दाल मे कुछ काला हे’ भन्ने कुरा पुष्टि भएको छ । 


बुधवारको प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पनि फेसबुकमा राजनीतिक परिवर्तनको संकेत गर्दै स्ट्याटस लेखेका छन् : 

‘ राजनीतिकरुपमा केही खिचडी पाक्दैछ, अलग–अलग उच्चस्तरीय राजनीतिक भेटघाट बाक्लिदै छ, कुनै अप्रिय घटना नहोस, जनस्तरबाट कामना गरिन्छ । ’


राजनीतिक विश्लेषक भरत दाहालले पनि बुधवार नै लेखेका छन् : 


‘संकटले सांस्कृतिक क्षेत्रबाट निकास खोज्न थालेको छ
यसलाई क्रान्तिका रुपमा अघि बढाउने कोशिस गरौं !
देश विरूद्ध दिल्लीमा १२ बुँदे गर्नेहरूको जरै मास्नु पर्छ । ’ 

विशेष