पाँच मन्त्री फेरिने चर्चा, आलोचित भए पनि बीना र गोकुल टसमस नहुने
काठमाडौं । काम गर्न नसकेर असक्षमहरुको अग्रपंक्तिमा रहेका पाँच मन्त्रीहरु फेरिने चर्चाले फेरि नेपालको राजनीति तरंगीत भएको छ ।
हुन त वर्तमान मन्त्रीमण्डलमा राम्रो काम गरेको भनेर प्रशंसा कसैले पनि पाएका छैनन् । विगतमा राम्रो काम गरेकाहरु पनि यसपटक आलोचनाको केन्द्रमा छन् ।
‘फायर’ हुने एक नम्बर सूचीमा छन् कृषिमन्त्री चक्रपाणि खनाल । किसानको कोटा खोसेर आफै चीन भ्रमणमा जाने खनालले कृषिमा सिन्को भाँच्ने काम गरेनन् । न त उनले केही राम्रा कार्यक्रम ल्याउन नै सके । भएका कार्यक्रमहरुको पनि नियमन, नियन्त्रण, निष्पक्षता आदि कायम गर्न सके । किसानका नाममा जाने अनुदान टाठाबाठाले कुम्ल्याउने, प्याक्ट जस्ता संस्थाले किसानको भाग नेता र उनका आफन्तलाई बाँडीरहँदा अन्य झै मन्त्री खनाल पनि रमिता हेरेर बसे । जसका कारण यिनी हटाइने मन्त्रीको सूचीमा छन् ।
धनाढ्य मन्त्रीका रुपमा समेत परिचित रघुवीर महासेठ पनि ‘किकआउट’ हुन सक्नेहरुको सूचीमा छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सरकारले खारेज गरेको सिण्डिकेटको पक्षमा खुलेरै लाग्ने मन्त्री हुन् । उनले सिण्डिकेट हटाउने सरकारको अभियानको पक्षमा डटेर लड्ने यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवाका नाममा दिनुसम्म दुःख दिएका थिए । कामचोर ठेकेदारहरुको संरक्षणमा पनि मन्त्री महासेठ बलियो गरि उभिएका छन् ।
त्यस्तै गरी उद्योगमन्त्री मातृका यादव पनि असक्षम मन्त्रीका रुपमा बर्खास्त हुने लाइनमा छन् । अहिलेसम्मको अवधिमा यिनले देखाउन लायक एउटा पनि काम गरेका छैनन् । काम भन्दा दाममा बढी दौडिन थालेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि यिनीसँग असन्तुष्ट रहेको बताइन्छ ।
त्यस्तै गरी अर्थमन्त्री डा. युवराज खतिवडा पनि हटाइने मन्त्रीहरुको सूचीमा छन् । अघिल्लो पटक व्यवहारवादी बजेट ल्याएका अर्थमन्त्री खतिवडाले यसपटक नेताहरुको ‘यस म्यान’ भएर पपुलिस्ट बजेट ल्याए । उनी न उताका भए, न यताका रहन सके । धरापमा परेको अर्थतन्त्र उकास्न गरी अर्थमन्त्रीले गरेको काम स्पष्ट देखिएको छैन । उनले गर्ने सफलताका दावीहरु ‘कथित’ मात्रै हुन् भनेर आलोचना भइरहेको छ ।
डिभी र पिआरधारी कर्मचारीविरुद्ध ऐन ल्याएर प्रशंसा कमाएका लालबाबु पण्डितको श्रीमतीको खातामा ६० लाख देखिनु, पण्डित स्वयंमले भने साइकल चढेर चन्दा उठाएर चुनाव लड्नु, कर्मचारीहरुलाई ‘थाङ्ने’ भनेर थर्काउनु जस्ता कार्यले पण्डित अहिले शुन्यमा छन् । उनको धेरै आलोचना त हुँदैन तर प्रशंसा ठप्प छ ।
वर्तमान मन्त्रीमण्डलका विवादास्पद दुई मन्त्री भने विशेष कारणले जोगिने भएका छन् । मेलम्चीमा इटालियन कम्पनीलाई अनधिकृत रुपमा करोडौं भुक्तानी गर्न खोज्ने खानेपानी मन्त्री बीना मगर जोगिने चर्चा छ । मेलम्ची पर धकलेर रमाइलैमा हिँडिरहेकी भनेर आलोचित मन्त्री मगरको पनि देखाउन लायक कुनै काम छैन । तर उनी प्रचण्डको बुहारी भएका कारण जोगिने चर्चा छ ।
बोलीमै अशिष्टता झल्किने र जनस्तरबाट समेत गालीगलौजको वर्षात हुने सञ्चारमन्त्री गोकुल बास्कोटा पनि जोगिने सूचीमा छन् । असक्षम र अलोकप्रिय हुँदा हुँदै गोकुल सुरक्षित जोनमा छन् । किनभने प्रचण्डलाई बुहारी प्रिय भए झै प्रधानमन्त्री ओलीलाई पनि गोकुल प्रिय छन् ।
प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रामबहादुर थापा बादल पनि हटाउन दबाब आएको बुझिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई गृहमन्त्री परिवर्तन फेर्ने प्रस्ताव पनि राखेका छन् । तर उनले गृहमा मन्त्री फर्ने मनस्थिति बनाएका छैनन् । शान्ति सुरक्षाका मामिलामा कैयन गल्ति भइसकेका छन् । यति भएर पनि ओली बादलप्रति नरम हुनुको रहस्य खुलिसकेका छैन ।
रिक्त रहेको पर्यटन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिने तयारी भइरहेको स्रोतको दावी छ । पछिल्लो समय जनताले जस्तो प्रतिक्रिया दिए पनि प्रधानमन्त्री ओलीको कानले सुन्न चाहेको अभिव्यक्ति दिँदै आएका योगेशको पर्यटन मन्त्रालयमा सम्भावना बढेको बताइन्छ ।