राजनीति

निरंकुश ओली सरकारको पतन अवश्यम्भावी : महर

निरंकुश ओली सरकारको पतन अवश्यम्भावी :  महर


नेपाली कांग्रेसका युवा नेता एवमा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले  कम्युनिष्ट नेतृत्वको निरंकुश सरकारको पतन चाँडै हुने दावी गरेका छन् । डेनमार्कमा जारी नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति डेनमार्कको संयोजन तथा व्यवस्थानमा नेपाली जनसम्पर्क समितिहरुका लागि विश्वस्तरीय प्रशिक्षण कार्यक्रमको दोस्रो दिन  आफ्नो धारणा राख्दै नेता महरले मुलुकको वर्तमान अवस्था निकै चिन्ताजनक रहेको धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको अवस्था झन दयनीय बनेको स्पष्ट पारे ।  


‘कम्युनिस्ट सरकार सर्वसत्तावाद बाटोतर्फ उन्मुख भइरहेको छ’, उनले भने, ‘राज्यका सम्पूर्ण अंगलाई आफ्नो हातमा लगेर सरकार अधिनायकता तर्फ जान खोजेको प्रस्ट भएको छ। सरकार शिक्षादेखि प्रेससम्मलाई आफ्नो नियन्त्रणमा राख्न खोज्दै छ।’


उनले सरकारका गलत कदमविरुद्ध देशविदेशमा रहेका नेपालीले आवाज उठाउनुपर्ने बेला आएको बताउँदै  अहिले चुप लागेर बसे लोकतन्त्रनै खतरामा पर्ने चिन्ता व्यक्त गरे । दुई तिहाइको सरकार आउँदा जनताले विकासको आशा गरेकोमा त्यो निरासामा परिणत भएको नेता महरको टिप्पणी छ ।


उनले विदेशमा रहेका नेपालीलाई नेपालमा  लगानी गर्न पनि आग्रह गरेका छन्। लगानी मैत्रि वातावरणका लागि कांग्रेस सधै दृढ रहेको बताउँदै महरले विश्वको जुन सुकै कुनामा बसेर पनि नेपालको समृद्धिमा योगदान गर्न सकिने बताए । 

विशेष