एसइई सकियो :अब कलेज कसरी छान्ने ? यस्ता छन् स्थानीय तहले तोकेका मापदण्ड (भिडियोसहित)
हरि न्यौपाने
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई )को नतिजा विहिबार सार्वजनिक भएपछि अब उत्तीर्ण विद्यार्थीहरुलाई कक्षा ११ छान्ने चटारोले छुँदैछ । सरकारले स्थानीय तहले शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएको छ । कक्षा ११ मा अनुमति दिँदा योजना, व्यवस्थापन, अनुमति, ठाउँसारी लगायतबारे सम्पूर्ण अधिकार स्थानीय तहको छ ।
स्थानीय तहले लाइब्रेरी, ल्याब, शौचालय, क्यान्टिन, भूकम्प प्रतिरोधी भवन, शिक्षाका लक्ष्य र उद्देश्य पूरा गर्न सक्ने विद्यालयले कक्षा ११ को अनुमति पाउने गर्छन । काठमाडौँ महानगरपालिकाभित्र ८८ सामुदायिक विद्यालय र ६५० संस्थागत विद्यालयले अनुमति लिएका छन् ।
यसमा कक्षा ११ नचलाउने धेरै छन् । कक्षा ११ मा सामुदायिक विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुले स्थानीय वडाको सिफारिसमा निःशुल्क छात्रवृत्ति समेत पाउँछन् । काठमाडौँ महानगरपालि शिक्षा विभागका निमित्त शिक्षा अधिकारी तारापति खरेलका अनुसार काठमाडौँमा कक्षा ११ चलाउन माध्यमिक शिक्षा परीक्षामा २५ जना विद्यार्थी उत्तीर्ण गराएको हुनुपर्छ । अर्कोतर्फ कक्षाकोठाको पनि निश्चित मापदण्ड तोकिएको छ ।
कक्षा ११ मा भर्ना हुने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुमध्ये १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । यसका लागि जहाँ भर्ना हुन पनि सकिन्छ तर सम्बन्धित वडाको सिफारिस चाहिन्छ अनि सामुदायिकमा पढेको भए अझै राम्रो मानिन्छ ।
यसपटकबाट माध्यमिक शिक्षा परीक्षामा सात प्रदेशबाट पहिलोपटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरिएको हो । कुनै पनि विद्यालयले यसमा के कस्ता मापदण्ड पूरा गर्नुपर्छ त ? अनि विद्यार्थीहरुले कलेज छान्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
हुन त स्थानीय तह अनुसार नियम भिन्नाभिन्नै छन् । तर संघीय राजधानी काठमाडौँ शिक्षाको हब बनेको छ । अधिकांश विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षापछि काठमाडौँ केन्द्रित हुन्छन । निश्चित मापदण्ड पूरा नगरीकन पनि कतिपय विद्यालयले प्रभाब, दबाबका आधारमा अनुमति लिएका हुन्छन् ।
यसै अवस्थालाई मध्यनजर गर्दै हामीले काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुखसँगै समन्वय गरी कक्षा ११ सञ्चालनको मापदण्डबारे जानकारी लिएका छौँ । हेर्नुहोस् भिडियो ।