मुख्य समाचार

टाउकोमा गोली लागेपछि राजमार्ग सुचारु

टाउकोमा गोली लागेपछि राजमार्ग सुचारु

सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । ४ जना स्थानीयलाई गोली लागेको छ ।


खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा भएको खाल्डोमा डुबेर एक १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए । 


राजमार्ग खुलाउने क्रममा प्रहरीले हवाइ फायर गर्दा सर्लाही, इश्वरपुर–१३ बस्ने २७ वर्षका केवल महतोको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।


आक्रोसित स्थानीयले ६ किलोमिटर टाढा पूर्व–पश्चिम राजमार्गमा शव लिएर प्रदर्शनमा उत्रिएपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बाक्लो पारिएको थियो ।


अवरोध हटाउन सुरक्षाकर्मीले धेरैपटक आग्रह गर्दा पनि प्रदर्शनकारी टुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ । प्रहरीले सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो । त्यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा तीव्र गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो ।  हवाइ फायरकै क्रममा गोली लागेर महतोको मृत्यु भएको जनाइएको छ । 


गोली प्रहारपछि प्रदर्शनकारी तितरवितर भएपछि अहिले राजमार्ग सुचारु भएको छ ।
 

विशेष