नवराजले गरे आफैलाई सिध्याउने रोपाईँ
असार १५ राष्ट्रिय धान दिवसको सन्दर्भसंगै नेकपाका सांसद एवम पूर्व डिआइजी नवराज सिलवालको अचम्मको फोटो सार्वजनिक भएको छ ।
राष्ट्रिय धान दिवसको दिन सबैले खेतमा हिलाम्य भएर रोपाईं गरिरहेकाबेला सांसद सिलवालले भने छालाको जुत्ता र हातमा पञ्जा लगाएर रोपाईं गरेका छन् ।
फोटो हेर्दा उनी खेतमा पनि छिरेका छैनन् । खेतको आलीमा बसेका छन् तर धान रोपिरहेको देखिन्छ । खुट्टामा कालो जुत्ता र हातमा पञ्जा लगाएर आलीबाटै रोपाईँ गर्न कसरी सकिन्छ ?
प्रहरी जीवनमा राम्रो छवि बनाएका सिलवाल राजनीतिमा छिरे यता विवादमा मुछिने काम स्वयं उनी आफै गर्दै आएका छन् । यसअघि निर्वाचनका बेला उनले खेतमै पुगेर धान काटेको तस्बिर सार्वजनिक भएको थियो ।
सिलवाल जस्ता व्यवसायिक मानिसहरुले आम नेताहरुले जस्तै व्यवहार नगरे हुन्थ्यो भन्ने जनअपेक्षा छ । चर्चा बटुल्नकै लागि हो भने उनी पनि अरु नेता भन्दा फरक हुने छैनन् । यस्ता गतिविधिले सिलवाललाई फाइदा भन्दा नोक्शानी बढी हुनेछ ।