राजनीति

प्रवासी नेपालीलाई आफनो सीप क्षमता देशको समृद्धिमा प्रयोग गर्न महरको आग्रह

प्रवासी नेपालीलाई आफनो सीप क्षमता देशको समृद्धिमा प्रयोग गर्न महरको आग्रह

नेपाली कांग्रेसका युवा नेता एवमा नेपालप विद्यार्थी संघका पूर्व अध्यक्ष नैन सिंह महरले प्रवासमा रहेका सबै नेपालीलाई आफनो सीप क्षमता देशको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । 


नेपाली जनसम्पर्क  समिति पोर्चुगल आलेन्तेजोको क्षत्रिय अधिवेसनलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका ६० लाख भन्दा बढी युवाहरुले आफूमा भएको सीप क्षमता र दक्षता स्वदेशमा प्रयोग गर्ने हो भने मुलुक स्वर्ग हुने धारणा राखे । 


उनले भने, ‘ नेपाल बाहिर बसेर नेपालीका लागि सबैभन्दा प्यारो चिज भनेको आफनै देश हो, आफू जन्मेको, हुर्केको ठाउँ हो । विदेशमा भएपनि तपार्ईहरुको मनमा आफनो कला, संस्कृति, रीतिरिवाज, संस्कार र शभ्यताले जरा गाडेको छ । जीवन यापन सहज बनाउन बाध्यताले विदेश आउनु परेको हो । अब यहाँहरुले आफनो परिश्रम स्वदेशका लागि खर्चिने हो । ’


आफनो सम्बोधनका क्रममा युवा नेता महरले पोर्चुगलको नयाँ कमिटीले यो क्षेत्रमा बस्ने  नेपालीहरुको सुख दुःखमा साथ दिने विश्वास समेत व्यक्त गरे । उनले नेपाली कांग्रेसलाई प्रवासमा बलियो बनाउन नयाँ कमिटीले तन मन धन लगाएर काम गर्ने विश्वाससमेत व्यक्त गरे ।


‘वीपी कोईरालाले भारतको मुम्बईबाट नेपाली जनसम्पर्क समितिको स्थापना गरेर नेपाली कांग्रेस लाई प्रवासमा पनि बलियो पार्नुभयो । यसको थालनी उहाँले गर्नुभएको हो । कोइरालाले प्रवासमा यस्तो समिति बनाउनुको  दुईटा कारण थियो । एउटा राजनीतिक कारण थियो, अर्को पञ्चायती व्यवस्था थियो । कोइरालाको बहुमतको सरकारलाई २०१७  सालमा अपदस्त गरि बीपीलाई जेल हाले पछि नेपालमा प्रजातन्त्रको लडाई अघि बढेको थियो ।  त्यो बेला नेपालको राजतन्त्र र पंचायती ब्यबस्था अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना गर्न विभिन्न मुलुकहरुमा जनसम्पर्क समितिहरु स्थापना गर्ने प्रचलन चल्यो ।’ महरले भने । 


नेता महरले पञ्चायत कालमा प्रजातान्त्रिक अभियानमा लागेको जो कोहीलाई पासपोर्ट बनाउने अवस्था समेत नरहेको उल्लेख गरे ।  पासपोर्ट समेत नदिने ब्यवस्थाको अन्त्य र विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप प्रविधि र क्षमतालाई स्वदेशको हीतमा प्रयोग गर्न कांग्रेसले ठूलो संघर्ष गरेको पनि उनले स्मरण गरे । अहिलेको कम्युनिष्ट सरकार पनि सोही पञ्चायती शैलीले अघि बढेकाले प्रवासमा रहेका साथीहरुले पनि आवाज उठाउनुपर्ने अवस्था आएको उनले बताए । 
 

विशेष