आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको मन्त्री गोकुल बाँस्कोटाको दाबी
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् ।
सोमबार चलचित्र विकास बोर्डको १९औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’
साउनदेखि बक्स अफिस देशभरि पूर्णरुपमा लागू हुने स्पष्ट पार्दै मन्त्री बाँस्कोटाले नेपाली चलचित्रको विकासका लागि सरकारले सधैं काम गर्ने जनाए ।
मन्त्री बाँस्कोटाले विदेशी टेलिभिजन च्यानलहरुमा क्लिन फिड जसरी पनि लागू हुने बताए । ‘यो कुरा मेरो दिमागमा पहिले नै आएको थियो । सरकार क्लिन फिडको विषयमा स्पष्ट छ,’ बाँस्कोटाले भने, हामीसँग ब्याक गियर भन्ने नै छैन, क्लिन फिड जसरी पनि लागू हुन्छ ।’