प्रचण्ड निकटकै युवा नेता भन्छन्, ‘कमाण्डर नाङ्गै हिड्न थाले, कसरी सहयोग गर्नु ?’
‘अबको जनमुक्ति सेना भनेको तपाईहरु हो । सुप्रिम कमाण्डरका हैसियतले म शासन गर्छु, सहमतिमै जानुहोस् ।’ प्रेस सेन्टरको पहिलो महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिए । उनको निर्देशनको आसय बुझेका प्रतिनिधिले ‘हुँदैन हुँदैन’ भन्दै चुनावको पक्षमा हुटिङ गरे । सहमतिको अर्थ पूरानै नेतृत्वको थापना भन्ने बुझेका प्रतिनिधिले प्रचण्डलाई हायलकायल पार्ने गरी हुटिङ गरिरहे । प्रचण्डका बिरुद्धमा आफ्नै फोरममा हुटिङ भएको यो दोस्रो पटक हो । यसअघि पालुङटार बैठकपूर्व ०६७ सालमा काठमाडौंको भृकुटी मण्डपमा प्रचण्डको सामुन्नेमा कार्यकर्ताले कुर्सी प्रहार गर्दै नाराबाजी गरेका थिए । दश बर्ष पछि हुन लागेको प्रेस सेन्टरको महाधिवेशनमा पार्टीले अध्यक्ष तोकेपछि प्रतिनिधि रुष्ट भएका छन् । स्थापनाकालकै अध्यक्ष एंव पार्टीका पोलिटव्यूरो सदस्य महेश्वर दाहाललाई अध्यक्ष तोकेपछि माओवादी निकटका तर व्यवसायिक छबी भएका पत्रकारले केन्द्रीय समितिमा बस्न इन्कार गरेका छन् । पत्रकारितामा सक्रिय रहेका अधिकांश प्रतिनिधिले प्रेस सेन्टरलाई उर्जाशिल बनाउन व्यवसायिकरुपमा सक्रिय पत्रकारलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिएका थिए । नयाँ नेतृत्व चयनका लागि निर्वाचनबाट मात्र सम्भव भएको भन्दै निर्वाचनका लागि उनीहरुले अन्तिमसम्म प्रयास गरेका थिए । पार्टीले हस्तक्षेप गरी पत्रकारितामा सक्रिय नरहेका दाहाललाई अध्यक्ष बनाएपछि अधिकांश चिनिएका अनुहार केन्द्रीय समितिबाट बाहिरिएका छन् । को को बाहिरिए ?
दीपक सापकोटा स्थापनाकाल देखिका सक्रिय पत्रकार हुन् । उनी स्तम्भकार र लेखकपनि हुन् । पत्रकारका पंक्तिमा मिजासिलो छबी बनाएका र लेखनका दृष्टिले व्यवसायिकरुपमा प्रतिष्प्रर्धामा उत्रिएका सापकोटा सेन्टरको केन्द्रीय समितिमा बसेनन् । अग्नी सापकोटाका छोरा दीपक नयाँ नेतृत्व नभएसम्म संगठन गतिशिल हुँदैन भन्ने मध्येका एक थिए । माओवादी युद्धकाल देखि पत्रकारिता गर्दै आएका पठीत पत्रकार हुन् दीपेन्द्र रोकाया । उनीपनि संगठनबाट बाहिरिएका छन् । माओवादी जनयुद्धमा भ्यालीको स्क्वायडमा रहेर काम गरेका तथा युद्धकालिन रेडियोमा कमाण्ड सम्हालेका सन्तोष पौडेलपनि सेन्टरको केन्द्रीय समितिबाट बाहिरिएको बुझिएको छ । केही समय पहिले प्रचण्डको प्रेस सल्लाहकार समेत रहेका पौडेल अनलाइन पत्रकारितामा सक्रिय छन् । व्यवसायिकरुपमा अघि बढेका माओवादीवृत्तका पत्रकार मध्येका एक हुन् दयानीधि भट्ट । सम्पादकको भुमिका रही पत्रकारिता गरिरहेका उनीपनि केन्द्रीय समितिमा नरहेको स्रोतले बतायो । पत्रकार महासंघकी सचिव एंव माओवादीवृत्तकी सबैभन्दा उचाइमा रहेकी महिला पत्रकार संगिता खड्काले पनि प्रेस सेन्टरको केन्द्रीय समितिबाट बिदा लिएकी छिन् । एलपी बन्जारा लगायतका आशालाग्दा पत्रकारले संगठनको केन्द्रीय जिम्मेवारीबाट बिदा लिएका छन् । यि सबैलाई पार्टी नेतृत्वले केन्द्रीय समितिमा बस्न आग्रह गरेको थियो । उनीहरुले महाधिवेशनको स्प्रिट विपरित नेतृत्व चयन भएको भन्दै नैतिकताका आधारमा बर्हिगमन रोजेको स्रोतले बतायो । दाहालकै असन्तुष्टि
प्रेस सेन्टरका नवनिर्वाचित अध्यक्ष महेश्वर दाहालले आफ्नो मन नहुँदा नहुँदै पार्टी निर्देशन अनुरुप जिम्मेवारीमा आएको प्रतिक्रिया दिएका छन् । नवगठित केन्द्रीय समितिमा धारणा राख्दै उनले आफ्नो विवशता बुझिदिन सबैलाई आग्रह गरेका हुन् । १० बर्षसम्म पनि नयाँ नेतृत्व उत्पादन गर्न नसक्नुमा आफ्नो समेत कमजोरी रहेको भन्दै ६ महिनाभित्र नेतृत्व हस्तान्तरण गर्ने वाचा गरेका छन् । महाधिवेशन प्रेस सेन्टरको, झट्का अरु संगठनमा
प्रेस सेन्टरमा पार्टी नेतृत्वले गरेको हस्तक्षेपको विरुद्धमा माओवादीका अन्य संगठनका आशलाग्दा युवा नेताहरुले कडा प्रतिक्रिया दिएका छन् । उपराष्ट्रपति पुत्र एंव अखिल क्रान्तिकारीका नेता दिपेश पुनले नयाँ नेतृत्व छान्नुपर्ने बताउँदै आएका थिए । पूरानै नेतृत्व दोहोराइएकोमा उनले दुःख व्यक्त गरेका छन् । सबैभन्दा कडा प्रतिक्रिया प्रचण्ड निकट रही काम गर्दै आएका वाइसिएलका नेता रामप्रसाद सापकोटा दीपशिखाले दिएका छन् । उनले कमाण्डरलाई नाङ्गो बनाउन सहयोग नगर्ने भन्दै प्रचण्डप्रति कडा कटाक्ष गरेका छन् । उनले पार्टीलाई एक नम्बर बनाउने प्रचण्डको घोषणा र व्यवहारमा तालमेल नमिलेको पनि स्पष्ट गरेका छन् । यसअघि वाइसिएलको पदाधिकारी बैठकले एकस्वरले नेपबहादुर कुवँरलाई अध्यक्ष बनाउन नहुने लिखित राय प्रचण्डलाई दिएको थियो । उमेर हदभन्दा माथि रहेका कुवँरलाई पार्टीको निर्देशन भन्दै अध्यक्ष बनाउन खोजिएपछि प्रचण्ड निकटकै युवा नेताले संगठितरुपमा विरोध जनाएका थिए । वाइसिएलको विवाद मिलिसकेको छैन । पछिल्ला कदमले प्रचण्ड आफ्नै निकटबाट टाढिदै गएको देखिएको छ ।
prachanda nikatkai yuwa neta