विकासको सपना देखाएका एक हाकिमको सरुवामा दुःखी भयो पूरै नगर
असोज १७ । सरकारी कर्मचारी आउने जाने भइरहन्छन् यो नौलो विषय होइन । तर कहिले काहिँ सरकारी हाकिमको सरुवाले मानिसहरु चिन्तित पनि हुँदा रहेछन् । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीलाई स्थानीय विकास मन्त्रालयले हालै सरुवा गरेको छ । रेग्मीलाई विराटनगरबाट शिद्धार्थ नगरपालिका भैरहवा पठाइएको छ ।
रेग्मीको सुरुवा हुँदा विराटनगरमा चिन्ता प्रकट गरिनुका खास कारणहरु छन् । एसियाली विकास बैंकको सहयोगमा विराटनगरमा सडक, ढलआदि निर्माण भइरहेको छ । यो काम दुई वर्षदेखि चलेको थियो । नयाँ बनाउने भनेर रेग्मीले सडकमा परेका विराटनगरका जब्बर घरवालाहरुको घरमा समेत डोजर चलाए । सुजाता कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्यलगायत कांग्रेसका शक्तिशाली व्यक्तिको पनि घरभवन सडकमा पर्यो । नयाँ बनाउन पुरानो भत्काउनै पर्छ भनेर रेग्मीले शक्तिशालीकै घरबाट डोजर चलाउन शुरु गरे ।
शक्तिशाली व्यक्तिलाई नै नछाडेने रेग्मीले अरुलाई बाँकी नराख्ने देखेर विराटनगरको मेन रोड क्षेत्रका जब्बर घरवालाहरुले आफै घर भत्काउन थाले ।
त्यहीबेला नेपालमा भूकम्प गयो । भूकम्पले भत्काउन रोकेन तर बनाउन भने ढीलो भयो । त्यो लगत्तै मधेसीहरुले संविधानमा चित्त नबुझाएर आन्दोलन गरे । मधेसीको ६ महिनाभन्दा लामो आमहड्ताल र भारतको पाँच महिनाको नाकाबन्दीले विराटनगरको पुनर्निर्माणले झन्डैझन्डै घुँडा नै टेक्यो ।
नयाँ बनाउन भनेर विराटनगरका रहेक सडक, गल्ली, भौतिक संरचना भताभुंग अवस्थामा छन् । पानी पर्दा धान रोप्ने जस्तो हिलो सडकमा हुन्छ । विराटनगरको यो दुरावस्था देखेर नगरवासीले कार्यकारी अधिकृत रेग्मीको तिखो आलोचना पनि भयो । तर विराटनगरको त्यस्तो भद्रगोलको वास्तविक कारण हेलचेक्र्याई भन्दा पनि राजनीतिक र प्राकृतिक थियो–जसले पुनर्निर्माणको गतिमा ब्रेक लगाएको थियो ।
नयाँ बनाउन पुरानो भत्काउने अपजस रेग्मीले पाए । तर बनाउने बेलामा उनको सरुवा भयो । पं्रमुख कार्यकारी अधिकृत रेग्मी आफै पनि विराटनगरवासी हुन् । उनले विभिन्न सार्वजनिक सभा समारोहमा दाबी नै गरेर ‘नयाँ बनाउँदा गुणस्तरलाई पूरै ध्यान दिएर बनाइन्छ । केही दिन दुःख सहिदिनुहोला ।’
रेग्मीको भनाइमा विराटनगरका धेरैजसोले विश्वास पनि गरेका थिए । तर अहिले उनको सरुवाले त्यति ठूलो विकासको काम अब कसरी प्रभावित होला भन्ने चिन्ता गरिएको छ ।
रेग्मीको सरुवाको खबरपछि संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झाले फेसबुकमा लेखे,‘ सरुवाको गलत परिपाटीले विकास बिथोलिने भयो ।’
विराटनगरकै ज्योति पोख्रेलले लेखिन्, ‘विराटनगरबासीका लागि यो दुःखको खबर हो । त्यति धेरै काम अधुरै छन् ।’ फेसबुकमै काजी नेपालले सरुवा गर्नेहरुप्रति आक्रोश पोख्दै लेखे, ‘नगरको विकास र समृद्धी देख्न नसक्नेहरुले यस्तै फोहोरी राजनीति गर्ने हुन् । नगरबासीहरुले यो कुरा बुझ्न आवश्यक छ । यिनीहरु राजनीति कसका लागि गर्छन् हो ?’
सरुवाका विषयमा रेग्मी आफैले भने त्यस्तो ठूलो गुनासो गरेका छैनन् । उनले भने, ‘विराटनगरलाई नयाँ बनाउने भनेर भताभूंग पारेँ । बनाउने बेलामा सरुवा भयो । मान्छेहरु बिगारेपछि बनाएर मात्रै जा भन्छन्, सरकारी कर्मचारी परियो, आफूले भनेर नहुने ।’
रेग्मीले विराटनगरमा धेरै कुरा भत्काए । तर नयाँ बनाउने सपना नगरवासीलाई देखाएका थिए । त्यही भएर विराटनगर अस्तव्यस्त हुँदा पनि नगरवासीले सहेर बसेका थिए ।
उनले विराटनगरका २२ वटा वडामा २२ किशिमका फूलको वडा बनाउने योजना बनाएका थिए । विराटनगरमा ५० हजार वटा हुर्केकै रुख रोपेर हरित नगरीका रुपमा परिणत गर्ने योजनामा वन मन्त्रालयसँग सम्झौता नै भइसकेको थियो ।
उनले वर्षौैदेखि भूमाफियाले ओगटेर राखेको बजार क्षेत्रका ३ वटा टुक्रा जमिन खोसेका थिए । त्यसका लागि उनी आफै भूमाफियासँग भिड्न बीच बजारमा उत्रिएका थिए ।
केही समय अघि विराटनगरका स्थानीय राजनीतिक दलका नेताहरु रेग्मीसँग रिसाए । स्थानीय विकास मन्त्रालयले नगर क्षेत्रमा रहेका घरजग्गाको करमा वृद्धि गर्यो । त्यो वृद्धिलाई विराटनगर उपमहानगरपालिकाले पनि सदर गरिदियो । त्यस्तो प्रावधान सबै राजनीतिक दलका प्रतिनिधि सहभागी नगरपरिषदमा प्रस्ताव रेग्मीले लगे । राजनीतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गरे । पहिले धेरै सम्पत्ति भएकाहरुले धेरै कर तिर्नु पथ्र्यो । ती धनीहरुले सरकारलाई प्रभावित पारेर त्यस्ता प्रावधान हटाएर मध्यमबर्गबाट धेरै कर उठाउने नीति सरकारबाट पास गराएका थिए । केन्द्रमा सरकारले पारित गरेको नीति कार्यान्वयन गराउने जिम्मेवारी रेग्मीको हुन्थ्यो । उनलाई शुरुमा स्थानीय राजनीतिक दलले हस्ताक्षर गरेर साथ दिए । पछि जनताले मन नपराएपछि स्थानीय राजनीतिक दलका प्रतिनिधिले ‘गोपाल रेग्मी मुर्दाबाद’ भन्दै आन्दोलन शुरु गरे ।
रेग्मीले राजनीतिक दलहरुकै समर्थनमा नयाँ कर नीति लागू गरेको हो भनेर नगरपरिषदमा गरिएको हस्ताक्षर सार्वजनिक गरिदिए । राजनीतिक दलका प्रतिनिधिको त्यो छद्म व्यवहार जनतासामू उदांगिएपछि उनीहरु थप क्रोधित भए ।
त्यसपछि त उनीहरु सबै मिलेर ‘यो गोपाल रेग्मीलाई विराटगरबाट तुरुन्तै हटाइयोस्’ भनेर स्थानीय विकास मन्त्रीलाई ज्ञापन पत्र नै बुझाए । त्यसपछि हुनु के थियो– सरुवा भएरै छाड्यो ।