अर्थ ताजा खबर News

डा. उपेन्द्र महतोले पतंजली आयुर्वेद लिमिटेड नेपालमा भित्र्याए

डा. उपेन्द्र महतोले पतंजली आयुर्वेद लिमिटेड नेपालमा भित्र्याए

upendra-mahato

असोज १६ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बाबा रामदेवले भारतमा स्थापना गरेको पतंजलि आयुर्वेद लिमिटेडलाई नेपालमा भित्राएका छन् । बारा जिल्लामा पाँच बिघा जमिन लिइ नेपाल ग्राम उद्योग नामक उद्योग स्थापना गरेर झण्डै ५० प्रकृतिका खाद्यान्न तथा श्रृंगारका सामान उत्पादन सुरू गरिएको छ ।

पतंजलिको प्रविधि र आफ्नो झण्डै डेढ अर्ब लगानीमा स्थापित उक्त उद्योगको सबै नाफा सामाजिक काममा लगाउने व्यवासायी उपेन्द्र महतोले बताएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पतंजलिका संस्थापक बाबा रामदेवले नेपालमा आयुर्वेद र वैदिक शिक्षा विस्तार गर्ने पनि बताएका थिए । साथै आफूले नेपालबाट नाफा कमाउने उद्देश्य नलिएको भन्दै उनले पंतजलिका नेपालमा गरिने उत्पादनबाट हुने नाफा यहाँ नै खर्च गरिने घोषणा गरेका थिए।

दुई साताअघि राजकीय भ्रमणमा भारत जाँदा प्रधानमन्त्री प्रचण्डलाई हरिद्वारस्थित पतंजलि योगपीठमा स्वागत गर्दै बाबा रामदेवले खाद्यान्न र जडीबुटी प्रशोधन गर्ने आफ्नो मुख्य कारखाना डुलाए । त्यसपछि आयोजित विशेष समारोहमा रामदेवले हरिद्वारमा रहेको जस्तै ठूलो स्तरको फुड एण्ड हर्बल पार्क नेपालमा सञ्चालन गरेर आफ्नो कारोबारलाई पतंजलिले भारतबाहिर विस्तार गर्ने अभियान अघि बढाउने घोषणा गरे ।

उनले भने, “पतंजलि आयुर्वेदको देशभन्दा बाहिर र सबैभन्दा ठूलो कारखाना सबैभन्दा पहिला नेपालमा खुल्दैछ। हामी अर्को महिना अर्थात आगामी नेभोम्बरमा त्यसको शुरुवात गर्दैछौँ। त्यसपछि यो श्रृंखला थप अघि बढ्छ।”

सन् २००६ मा स्थापित पतंजलि आयुर्वेद लिमिटेडलाई भारतमा सबैभन्दा द्रुत गतिमा नाफा कमाइरहेको कम्पनीका रुपमा लिइन्छ ।गएको जुलाईमा भारतीय अखबार इण्डिया टुडेले एउटा विस्तृत आलेख छाप्दै पतंजलिले अत्यधिक चलनचल्तीका उपभोग्य वस्तु उत्पादनको साम्राज्य खडा गरेको उल्लेख गरेको थियो ।

बाबा रामदेवका निकट सहयोगी एवं पतंजलि आयुर्वेदका प्रबन्ध निर्देशक नेपाली मूलका भारतीय नागरिक आचार्य बालकृष्णलाई हालै प्रतिष्ठित पत्रिका फोर्ब्सले भारतका ४८ औँ धनी व्यक्तिमा सूचीकृत गरेको छ । फोर्ब्सले उनीसँग करिब साढे दुई खर्ब रुपैयाँ बराबर सम्पत्ति रहेको जनाएको छ । हुन पनि हो जडीबुटी मिश्रित भनिएको दन्तमन्जनदेखि श्रृंगारका सामाग्री र चाउचाउदेखि जाम अनि साबुनदेखि जुससम्म उत्पादन गरिरहेको पतंजलिका झण्डै साढे तीन सय किसिमका उत्पादन छन् ।

हालै उसले स्वदेशी जिन्स कपडा समेत उत्पादन गर्ने घोषणा गरेको छ । सस्तो मूल्यका पतंजलिका उत्पादनको बढ्दो लोकप्रियताले दैनिक उपभोग्य सामाग्री उत्पादन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुलाई अहिले भारतीय बजारमा आच्छु आच्छु परेको देखिन्छ ।

upendra mahato

विशेष