अर्थ ताजा खबर News

ठमेलको होटल बेचेर मनाङमा स्याउ खेति

ठमेलको होटल बेचेर मनाङमा स्याउ खेति

apple

असोज १६ । उनी राजधानीको पर्यटकीय केन्द्र ठमेलमा होटल चलाउँथे । आम्दानी राम्रै थियो । होटलकै कमाइले छोरालाई दार्जिलिङमा महँगो स्कुल पढाए, बैंगलुरुमा कलेज । तर, तीन वर्षअघि उनले होटल बेचे, घाटा खाएर हैन, न त जुवा खेलेर । किन त ? ‘बाको सपना साकार पार्न, अनि आफ्नै ठाउँमा राम्रो गरेर देखाउन,’ ठमेलको चल्तीको होटल बेचेर मनाङ फर्केका पोल्डेन छोपाङ गुरुङले भने, ‘यतै आएर पनि केही गर्न सकिन्छ भन्ने लाग्यो, अहिलेसम्म राम्रै भइरहेको छ ।’ गुरुङ आम्दानी र प्रगतिका लागि सहर मात्र पस्ने नेपालीको भीडमा एक्लो वृहस्पति हुन सक्छन् । जसले राजधानीको चल्तीको होटल बेचेर मनाङ पुगी नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म खोलेका छन् ।

५६ वर्षीय गुरुङले आफ्नो ऊर्जाशील समय राजधानीमा होटल व्यवसाय हुर्काउन खर्चिए, अवकाश उमेरमा भने युरोपबाट ल्याइएका स्याउका बेर्ना हुर्काउँदै छन् । त्यो पनि एक वा दुई रोपनीमा हैन, झन्डै साढे ४ सय रोपनीमा । अनि चाँडै यो क्षेत्रफललाई बढाएर र्पुयाउँदै छन् ७ सय रोपनीसम्म । ‘मेरो बुवा पञ्चायतकालमै सांसद हुनुहुन्थ्यो,’ गुरुङले भने, ‘उहाँले जहिले पनि आफ्नै गाउँठाउँमा गएर केही गर्नुपर्छ भन्नुहुन्थ्यो ।’

आफ्ना बाको सपना साकार पार्ने योजना बुन्दा बुन्दै गुरुङले पाँच दशक उमेर काटिसकेका थिए । तर, विदेश बसेर उच्च शिक्षा हासिल गरेका उनका छोरा युवराज भने योजना मात्र बनाउने पक्षमा देखिएनन् । पढाइ सकेर नेपाल फर्किएपछि उनले मनाङको भौगोलिक र वातावरणीय अवस्थाको अध्ययन गरे । त्यस्तै वातावरणमा गर्न सकिने खेती र तिनको जानकारी लिन थाले । यसका लागि उनी नेदरल्यान्डसम्म पुगेर अध्ययन गरे । छोराको अध्ययनले मनाङमा गएर स्याउ खेती गरे त्यसबाट राम्रै आम्दानी गर्न सकिने र कृषिमा आधारित पर्यटन (एग्रो टुरिजम) विकास गर्न सकिने निष्कर्ष निकाल्यो ।

केही वर्षको अध्ययन र बजार विश्लेषणपछि उनले ठमेलको होटल बेच्ने निधो गरे । बैंक तथा साथीभाइसँग ऋणसमेत लिएर मनाङ पुगे । मनाङको पिसाङ–१, भ्राताङमा रहेको मनाङ मस्याङदी क्लबको ७ सय १५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिए । अनि थाले स्याउ खेती गर्न । उनको स्याउ फार्ममा इटाली र सर्वियाबाट ल्याइएका बिरुवाले गत वर्षदेखि नै फल दिन थालेका छन् । फुजी, गाला र गोल्डेन प्रजातिका वर्णशंकर स्याउका बिरुवाले यसपटक गत वर्षभन्दा बढी फल दिएका छन् ।

अहिले ४ सय १५ रोपनी क्षेत्रफलमा गुरुङले ६० हजारभन्दा बढी स्याउका बिरुवा लगाएका छन् । वर्णशंकर भएकाले यी बिरुवा अरू स्याउको जस्तो अग्ला र मोटा छैनन् । तर, वयस्क भइसकेपछि प्रत्येक बोटबाट कम्तीमा ३० देखि ३५ किलो स्याउ उत्पादन हुने गुरुङ बताउँछन् । यस वर्ष भने एउटा बोटबाट ७–८ किलोसम्म स्याउ उत्पादन भएको छ । अहिले स्याउ उत्पादनको मौसममा उनले ७० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । स्याउ फर्मका लागि हालसम्म गुरुङको कम्पनी ‘एग्रो मनाङ’ले १६ करोड रुपैयाँ लगानी गरिसकेको छ । यसलाई बढाएर २३ करोड र्पुयाउने गुरुङको लक्ष्य छ । उनले मनाङ पुगेर स्याउ फार्म मात्र चलाएका छैनन्, फर्ममै जोडेर होटल र कोल्डस्टोरेजसमेत निर्माण गर्दै छन् । ‘हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौं,’ गुरुङले भने, ‘एग्रो टुरिजम विकास गर्न खोजेका हौं, त्यसैले होटल पनि सँगसँगै बनाउँदै छौं ।’ आपैंm व्यवसाय थालेका उनले हाल सरकार र एसियाली विकास बैंकबाट सहयोग पनि पाएका छन् । उनले २ करोड २२ लाख अनुदान सहयोग पाएका छन् । तर, गुरुङले अनुदानका लागि स्याउ फर्म सुरु नगरेको बताए । ‘अनुदानका लागि हामीले फर्म सुरु गरेका थिएनौं,’ उनले भने, ‘अनुदानले प्रोत्साहन गरेको छ, तर हामी अझै लगानी बढाउँदै जानेछौं ।’ गुरुङले आगामी ५ वर्ष्भित्र हरेक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादनको लक्ष्यका साथ आफूहरूले लगानी विस्तार गरिरहेको जानकारी दिए ।

लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङको सदरमुकाम चामेसम्म करिब ६ वर्षअघि सडक पुगेको थियो । त्यसपछि यो सडक अहिले मनाङसम्म पुगेको छ । सडक चामेबाट मनाङ जाने सडक गुरुङको स्याउ फर्म्भित्रैबाट पार हुन्छ । यसले स्याउको व्यावसायिकता अझ बढाएको गुरुङ बताउँछन् । तर, कच्ची सडक पक्की हुन नसक्दा र यातायात व्यवसायीको सिन्डिकेटका कारण उत्पादन बजारसम्म र्पुयाउन त्यत्ति सहज नभएको उनी बताउँछन् ।

एग्रो मनाङले अहिले उत्पादित स्याउ फार्मबाटै कम्तीमा किलोको १ सय ३५ रुपैयाँले बिक्री गरिरहेको छ । गत वर्ष नमुनाका रूपमा काठमाडौं पठाइएको स्याउ हारालुछ भएपछि अझ उत्साह थपेको गुरुङ बताउँछन् । नेदरल्यान्डसम्म पुगेर स्याउको अध्ययन गरेका गुरुङका छोरा युवराज भने उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजना बुनिरहेका छन् । ‘हामीले मात्र हैन, अब अरूले पनि यस्तै स्याउ फार्म चलाउनेछन् भन्ने लागेको छ,’ युवराज भन्छन्, ‘त्यसैले केही वर्षपछि हामीले निर्यात गर्न सक्छौं, त्यसका लागि मैले कोलकाता र अरू बजारको अध्ययन गरिरहेको छु ।’

कान्तिपुर

Apple in Manag

विशेष