News

'विश्वको प्रतिस्पर्धी क्षमता २०१६'मा नेपाल १३८औँ स्थानमा

'विश्वको प्रतिस्पर्धी क्षमता २०१६'मा नेपाल १३८औँ स्थानमा
असोज १६ । राजनीतिक अस्थिरता, पूर्वाधारको अभाव, भ्रष्टाचार, असक्षम कर्मचारीतन्त्र तथा नीतिगत अस्थिरताका कारण व्यवसाय गर्ने वातावरण बिग्रँदै गएकोले नेपालले आफनो प्रतिस्पर्धी क्षमता गुमाउँदै गएको छ । nepal वल्र्ड एकोनोमिक फोरमद्वारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१६ का अनुसार नेपाल गत वर्षभन्दा सूचकांकमा एक तह माथि उक्ले पनि दक्षिण एसियाको तेस्रो प्रतिस्पर्धी अर्थतन्त्रबाट तल झरेर चौथो हुन पुगेको छ । निरन्तरको राजनीतिक संक्रमण तथा औद्योगिक असुरक्षा तथा ऊर्जाजस्ता अत्यावश्यक पूर्वाधार अभावले पनि नेपालको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको हो । गत वर्षको प्रतिवेदन अनुसार नेपालको दक्षिण एसियामा भारत तथा श्रीलंकापछि प्रतिस्पर्धी अर्थतन्त्र रहेकोमा यस वर्ष भुटानले उछिनेको हो । विश्वको प्रतिस्पर्धी क्षमता २०१६ को सूचकांक अनुसार दक्षिण एसियामा भारत ३९औं स्थानमा, श्रीलंका ७१औं स्थानमा र भुटान ९७औं स्थानमा रहेका छन् । नेपाल भने १३८ राष्ट्रको सूचीमा ३.८७ अंकका साथ ९८औं स्थानमा छ । नेपालभन्दा पछाडि बंगलादेश १०६ स्थानमा र पाकिस्तान १२२ स्थानमा छन् । विश्वको प्रतिस्पर्धी क्षमता २०१५ मा नेपाल १४० राष्ट्रको सूचीमा १००औं स्थानमा थियो । सूचकांकको आधारमा नेपाल एक स्थान उक्ले पनि दक्षिण एसियाका अन्य देशको दाँजोमा प्रतिस्पर्धि क्षमता भने गुमाउँदै गएको हो । यति हुँदाहुँदै पनि, प्रतिवेदनका अनुसार, नेपाल दक्षिण एसियामै सबैभन्दा राम्रो बृहत आर्थिक वातावरण भएको देशमा पर्छ । त्यस्तै, स्वास्थ्य तथा प्राथमिक शिक्षामा पनि नेपाल दोस्रो उत्कृष्ट छ । ‘तर, पूर्वाधारको विषयमा भने नेपाल अत्यन्त नाजुक रहेको प्रतिवेदनले जनाएको छ । नेपालमा पूर्वाधारको गुणस्तर खस्केको छ,’ प्रतिवेदन भन्छ । प्रत्येक वर्ष वल्र्ड एकोनोमिक फोरमद्वारा सार्वजनिक गरिने विश्वको प्रतिस्पर्धी क्षमता सूचकांक आधारभूत आवश्यकता, सक्षमता अभिवृद्धि तथा नविन खोज र विकास जस्ता ३ प्रमुख सूचकका आधारमा तयार गरिन्छ । यस वर्षको प्रतिवेदन अनुसार नेपाल आधारभूत आवश्यकता र सक्षमता अभिवृद्धि दुवै सूचकमा ९८औं स्थानमा र नविन खोज र विकासको सूचकमा अत्यन्त कमजोर अर्थात १२७औं स्थानमा छ । अर्थतन्त्र प्रतिस्पर्धी भएपछि विदेशी लगानीकर्ताको आकर्षण बढ्नुका साथै देशको आर्थिक स्तर पनि बढ्ने प्रतिवेदनले जनाएको छ ।

bishwoko prstispardhi chhyamata nepal

विशेष