विदेश News

राष्ट्रपति ओबामाले विमानको ढोकामा पुगेर १ मिनेट ४० सेकेण्डसम्म कुरे क्लिन्टनलाई (भिडियोसहित)

राष्ट्रपति ओबामाले विमानको ढोकामा पुगेर १ मिनेट ४० सेकेण्डसम्म कुरे क्लिन्टनलाई (भिडियोसहित)

obama

असोज १७ । पहिलो अमेरिकी अश्वेत राष्ट्रपति बाराक ओबामा दुई कार्यकालको राष्ट्रपतिपदबाट केही महिनामै अलग हुँदै छन् उनको चर्चा धेरै भइरहेको हुन्छ । स्वयम् ओबामा समेत मिडियाका लागि मसला बन्ने क्रियाकलाप गरिरहेका हुन्छन् ।

अमेरिकी संवैधानिक व्यवस्था अनुसार नै एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउदैन । संयोग नै भन्नुपर्छ पहिलो पटक ओबामालाई राष्ट्रपति पदमा निर्वाचन गर्न सघाएकी नेतृ हिलारी क्लिन्टन अहिले अमेरिकी राष्ट्रपति बन्ने दौडमा छिन् । उनको लोकप्रियता बढ्दै गर्दा आगामी अमेरिकी राष्ट्रपति बन्ने क्लिन्टनको सम्भावना समेत बढेर गएको छ । क्लिन्टन अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी हुन् ।

गत शुक्रबार इजरायलमा रहेका राष्ट्रपति ओबामा र पूर्वराष्ट्रपति बिल क्लिन्टनबीचको एक रमाइलो संवादको भिडियो सार्वजनिक भएको छ । इजरायली नेता सिमोन पेरेसको अन्त्यष्टिमा सहभागी भएर अमेरिका फर्कने क्रममा खिचिएको यो भिडियोले अहिले विश्वभर चर्चा पाइरहेको छ ।  संवादमा बिल क्लिन्टन बोलेका छैनन् तर ओबामाले उनलाई निरन्तर बोलाइरहेका छन् । इजरायल पुगेर फर्कने क्रममा अमेरिकी ‘इयरफोर्स–वान’ विमानको ढोकामा पुगेर राष्ट्रपति ओबामाले क्लिन्टनलाई निरन्तर बोलाइरहन्छन् ।

अन्त्यष्टि कार्यक्रम सकेर फर्कन लाग्दा इजरायलका मन्त्री र साथीसँग क्लिन्टन गफिएपछि ओबामाले पटक–पटक क्लिन्टनलाई बोलाएको भिडियोमा देख्न सकिन्छ । ओबामा क्लिन्टनलाई बोलाउदै भन्छन, ‘बिल, चाँडै लागौँ !’ उनले यसरी बोलाउदा समेत बिल क्लिन्टन नआएपछि ओबामा थपडी बजाउदै थप्छन, ‘बिल छिटो गर । घर फर्किनु पर्छ ।’

ओबामाले विमानको ढोकामा उभिएर क्लिन्टनलाई एक मिनेट ४० सकेन्डसम्म कुरेका छन् । ओबामा क्लिन्टनलाई पर्खने क्रममा बेला सर्टको बाहुला मिलाउछन् त बेला भित्र कसैसँग कुरा गर्छन् । जब क्लिन्टन बिमानको सिढी चढेर ओबामा नजिक पुग्छन् तब दुवैजना हात मिलाएर साथीजस्तै सँगसँगै विमान भित्र पस्छन् ।

Obama

विशेष