News

आफ्नै भवन नहुँदा मासिक १ लाख भाडा तिर्न बाध्य प्रहरी

आफ्नै भवन नहुँदा मासिक १ लाख भाडा तिर्न बाध्य प्रहरी

असोज - १८ । आफ्नै भवन नहुँदा रोल्पा जिल्लामा रहेका प्रहरी युनिटले मासिक एक लाखभन्दा बढी भाडा तिर्दै आएका छन् ।

माओवादी सशस्त्र युद्धमा क्षति पुगेका ती प्रहरी युनिट हालसम्म पुनःनिर्माण हुन नसक्दा भाडामा बस्न बाध्य भएका हुन् । त्यसरी भाडा तिरेर कार्यालय सञ्चालन गर्ने प्रहरी युनिटमा जिल्ला प्रहरी कार्यालय समेत रहेको छ । युद्धताका भवन क्षति नभए पनि जिल्ला प्रहरी कार्यालयले भवन अपुग हुँदा मासिक ४० हजार रुपैयाँभन्दा बढी भाडा तिर्दै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

सशस्त्र युद्धताका जिल्लाका विभिन्न ३९ स्थानमा विस्तार भएका प्रहरी युनिटमध्ये २३ युनिटलाई क्षति पुर्याइएको थियो । शान्ति प्रक्रियापश्चात जिल्लाका विभिन्न ३६ स्थानमा प्रहरी युनिट पुनःस्थापना गरिएको भए पनि हालसम्म आठ प्रहरी युनिट मात्र आफ्नै भवनमा रहेका छन् ।

शान्ति प्रक्रियाको एक दशक पुग्दासम्म प्रहरी युनिट आफ्नै भवनमा बसेर सुरक्षा दिन नसक्नु दुःखद् रहेको नागरिक अगुवा सुन्दरकुमार शर्माले बताए । शान्ति प्रक्रियाको १० वर्षमा मुस्किलले तीनवटामात्र प्रहरी युनिट बनेका छन् ।

भाडाका घरमा अपराधका आरोपीलाई सुरक्षित गर्न र प्रशासनिक काम गर्न कठिन हुने गरेको प्रनाउ घर्तीमगरले बताए । भाडाका घरबाट सेवा दिन गाह्रो भइरहेको र तत्काल भवन बनाउन आवश्यक रहेकोबारे जिल्ला प्रहरी कार्यालयबाट पटकपटक विभाग र सम्बन्धित निकायमा पत्राचार भने हुँदै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Police rolpa

विशेष