News

पूर्व गृहमन्त्री घिमिरेको खोजी गर्न झिकाइएकाे गोताखोर फर्काइयाे

पूर्व गृहमन्त्री घिमिरेको खोजी गर्न झिकाइएकाे गोताखोर फर्काइयाे
असाेज - १८ । त्रिशूली नदीमा असोज– ९ गतेदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिलेपछि फर्किएको छ । madhav-ghimire सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर असफल भएपछि कैलालीबाट गोताखोर झिकाइएको थियो । पाँच जनाको समूहले दुई दिनसम्म खोजीकार्य जारी राखे पनि घटनास्थल आसपासका क्षेत्रमा गाडी र मानिस नभेटेपछि फर्किएको हो । कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका प्रहरी उपरीक्षक गणेशबहादुर थापाकाअनुसार गोताखोरले गाडी खसेको ठाउँको २५ मिटर आसपासका क्षेत्रमा नदीको भूइँसम्म कुनै पनि वस्तु र मानिस नभेटेपछि फर्किएको हो । उनका अनुसार त्यसको पश्चिमपट्टी भने पानीको उच्च बहाव भएकाले गोताखोर जान असफल भएको थियो । गोताखोरले नदीका तल्लो फेदबाट बालुवासमेत निकालेर देखाएको उनले बताए । सो समूह ठूला नदीमा पुल बनाउँदा पानीभित्र पसेर पिल्लर ठड्याउने व्यावसायिक समूह हो । एक पटकमा पाँच मिनेटसम्म पानीभित्र पसेर खोज्न सक्षम गोताखोरको रुपमा उक्त समूहलाई चिनिन्छ । यसअघि पोखराबाट झिकाइएको तीन जना गोताखोरले पनि दुई दिनसम्म नदीमा खोजी गरे पनि उपलब्धि नभएपछि फर्किएको थियो । सशस्त्र प्रहरीको कुरिनटारमा रहेका १२ जनाको विशेष टोली दिनहुँ खोजीकार्यमा जुटिरहेको छ । नेपाली सेनाको गोताखोरले पनि खोजीकार्यलाई जारीे राखेपनि उपलब्धि हासिल गर्न सकेको छैन । प्रहरी उपरीक्षक थापाका अनुसार कति गहिराइमा के वस्तु छ र पानीको तापक्रम कति छ भन्ने मापन गर्ने सोनार, पानीभित्र हेर्न मिल्ने क्यामरा, वस्तु तान्न मिल्ने ¥याकर, हुकिङ स्टिमलगायतका उपकरण प्रयोग गरी खोजीकार्य जारी राखिएको छ । सशस्त्र प्रहरीले दुर्घटनास्थलदेखि नवलपरासीको सुस्तासम्म ठाउँठाउँमा फरक÷फरक समूह बनाइ खोजीकार्य जारी राखेको उनले बताए । सुस्ता, त्रिवेणी, बेल्डिया, नारायणी नदीको पुल, देवघाट, घुमाउने, जलबीरे, मुग्लिन र दुर्घटनास्थल नजिकका सशस्त्र प्रहरीका युनिट मार्फत खोजीकार्य जारी रहेको उनले बताए । नेपाल प्रहरीले पनि आफ्ना इकाई मार्फत नदीका ठाउँठाउँमा खोजी जारी राखेको छ । नेपाली सेना पनि आफ्नै किसिमबाट खोजी कार्यमा जुटिरहेको छ । यसैबीच केही दिनअघि घिमिरे चढेको गाडी हुनसक्ने भनी गरिएको खोजी कार्यमा यसअघि खसेको ट्रकका केही सामान फेला परेका छन् । प्रहरी उपरीक्षक थापाले सो ठाउँमा सानो गाडी नभएको प्रष्ट भएको बताए । उनले ट्रकको साइलेन्सर पाइप, ट्रकका विभिन्न भागका केही अंश मात्र भेटिएको बताए ।

Madha Prasad Ghimire

विशेष