अर्थ ताजा खबर News

वारी चाड पारी व्यापार

वारी चाड पारी व्यापार

shoping

असोज १९ । दसैंको किनमेलका लागि सीमावर्ती बजारमा नेपालीहरूको भीड बढ्न थालेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरिदका लागि दैनिक सयौंको संख्यामा स्थानीयवासी सिमावर्ती बजारतिर जाने गरेका हुन् । सुदुरको तराइ जिल्ला कैलाली र कञ्चनपुरको सिमावर्ती क्षेत्रका बजार टिकापुरको तिकुनियादेखि, धनगढीको गौरीफन्टा र पलिया तथा कञ्चनपुरको बनवासा, खटिमा र टनकपुरमा दसैंका लागि दैनिक उपभोग्य वस्तुसँगै अन्य घरायसी सामान किन्ने नेपाली ग्राहकको भीडभाड बढेको छ ।

चाडवाडका समयमा कालोवजारी, चर्को महँगी, अनियन्त्रित मूल्य र गुणस्तरहीन उपभोग्य सामग्री बिक्री हुने क्रम निरन्तर बढेपछि उपभोक्ताहरू सीमापारिका भारतीय बजारप्रति आकर्षित हुने गरेका छन् ।

हिन्दुहरूको मुख्य पर्व दसैंका बेला पनि नेपाली बजार सुनसान जस्तै छन् । तर, सीमा पारिका साना ठूला सबै बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । ‘न मूल्यको ठेगान हुन्छ न उचित सामानको,’ सीमावर्ती बजारमा किनमेल गरेर फर्किने क्रममा त्रिनगर भन्सारमा भेटिएका कैलाली गेटाका शिक्षक पदमराज भट्टले भने, ‘धनगढीमा एउटै समानको पसलैपिच्छे फरकफरक मूल्य हुन्छ, सामान पनि गुणस्तरहीन हुने भएकाले सीमा क्षेत्रका बासिन्दा भारतीय बजारप्रति आकर्षित भएका हुन् ।’

चाडवाडका समयमा वर्षभरि बिक्री हुन नसकेका उपभोग्य वस्तु र लत्ताकपडा जसरी पनि बिक्री गर्ने व्यवसायीको क्रियाकलापले सीमापारिका वजारमा नेपालीको घुइँचो लाग्नुको मुख्य कारण भएको भट्टको भनाइ छ ।

केही दिनयता भारतबाट घर फर्किने र किनमेलका लागि सीमावर्ती बजारतिर जानेहरूका कारण गड्डाचौकी–बनबसा सडक खण्डमा भीडभाड निकै बढेको छ । खासगरी साग तरकारी, चिनी, दाल, फलफूल र अन्य विभिन्न किसिमका पूजा सामग्रीसँगै घर सजाउने सामानहरू खरिद गर्नेको भीड बढेको बनबसाका व्यवसायीहरू बताउँछन् । पछिल्लो एक सातायता किनमेल गर्नेको भीड बढेको हो । उसै पनि घरायसी प्रयोजनका सामान किन्न सीमावर्ती बजारतिर धाउने सीमा क्षेत्रका स्थानीयसँगै चाडपर्वका बेला टाढाटाढाबाट पनि जाने गर्दछन् । घर रंगरोगनदेखि विद्युतीय सामग्रीहरू प्रायजसोले बनबसाबाटै ल्याउने गर्दछन् । सीमावर्ती बजारबाट मसला, फलफूल र मिठाई तथा लुगाकपडा खरिद गरेर ल्याउने गरिन्छ ।

कैलालीको पूर्व भेगका टीकापुर, नारायणपुर, धनसिंहपुर, दुर्गौली र पथरैयालगायतका ठाउँका बासिन्दा किनमेलका लागि भारत जाने गरेका छन् । भारतीय बजार तिकुनियामा नेपाली बजारभन्दा सस्तोमा सरसामान पाइने भएकाले अधिकांश नेपलीहरू त्यतातिर जाने गरेका हुन् ।

सस्तोको आकर्षण

नेपालतिरको तुलनामा सीमावर्ती बजारमा मालसामान निकै सस्तो पाइने भएकाले पनि अधिकांश त्यहीँ पुग्दछन् । चिनी, तेल, आलु तथा प्याजमा प्रतिकिलोमा १५ देखि ५० रुपैयाँसम्म सस्तोमा पाइने गरेको स्थानीय बताउँछन् । ‘महेन्द्रनगरमा चिनी ८० रुपैयाँ प्रतिकिलो पाइन्छ,’ दसैंका लागि सामान किन्न बनबसा पुगेका भीमदत्त नगरपालिका १५ गोबरियाका सुवास विष्टले भने, ‘बनबसामा २०र२५ रुपैयाँ सस्तो पर्छ ।’

महेन्द्रनगर तथा आसपासका बजारहरूमा पनि भारतबाटै आयात भएको मालसामान बिक्री हुने भएकाले त्यहाँको तुलनामा केही महँगो हुने गर्छ । त्यही भएर चाडपर्वका बेला किनमेलका लागि स्थानीयको रोजाइमा सीमावर्ती बजार परेको हो । रंगरोगन र लुगा कपडाहरूमा विभिन्न किसिमका छुट तथा अफरहरूले समेत ग्राहक आकर्षिक भएका व्यवसायीहरू बताउँछन् ।

त्रिनगर भन्सारमा भेटिएका कैलालीका रणबहादुर थापाले धनगढीलगायत नेपाली बजारमा अत्यन्त चर्को मूल्यका कारण उपभोक्ताहरू सीमापारि जान बाध्य भएको गुनासो गरे । अझ चाडवाडका समयमा सामान पनि गुणस्तरीय पाउन निकै गाह्रो हुने भएकाले उपभोक्ता सीमापारि पुग्ने गर्छन् ।

नेपाली बजारमा ग्राहकको विश्वास घट्दो

धनगढीका स्थानीय व्यवसायीले उपभोक्ताले विश्वास गर्न नसकेका कारण सीमापारि गएर सामान खरिद गर्ने गरेको बताएका छन् । ‘उपभोक्ताले गरेको गुनासो आफैंमा गलत छ,’ धनगढीका पुराना कपडा व्यवसायी भोजराज चटौतले भने, ‘स्थानीय बजारमा कहीँ कसैले बद्मासी गरेको भए पनि उजुरी दिएर कारबाही गर्नुपर्छ तर सबै व्यवसायीलाइ एउटै किसिमले हेरेर सीमापारिी विश्वास गर्नु उपयुक्त होइन ।’ उनले सीमापारि वारिको भन्दा झन् बढी ठगी हुने गरेको बताए । ‘भारतीय बजारमा जसले जस्तो सामान दिए पनि हुन्छ तर नेपाली बजारमा गलत हुने बित्तिकै कारबाही गर्न सकिन्छ ।’ टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द गिरीले महँगी बढेकाले सस्तोको खोजीमा अधिकांश उपभोक्ता तिकुनिया जाने गरेको बताए । कैलालीको टीकापुरबाट तिकुनिया बजार करिब २० किलोमिटर दूरीमा रहेको छ । सर्वसाधारण उपभोक्ता साइकल, मोटरसाइकलमा किनमेलका लागि तिकुनिया बजार जाने गरेका छन् ।

पसलैपिच्छे नेपाली ग्राहकको घुइँचो

यतिबेला कैलाली र कञ्चनपुरका सीमावर्ती बजारमा पुग्दा एउटा ग्राहकले पालो पाउन कम्तीमा पनि १५र२० मिनेट कुर्नैपर्ने हुन्छ । किराना पसलदेखि फैन्सी र थोक बिक्रेताको पसलमा ग्राहकहरूको भीड बाक्लिएको छ । चाडपर्वका लागि भारतका विभिन्न ठाउँबाट घर फर्किनेहरू सीमावर्ती बजारमै किनमेल गर्ने भएकाले यतिबेला भीड अझ बढी हुन्छ । ‘अहिले एउटै पसलमा दैनिक सयरडेढ सय ग्राहक आउने गरेका छन्,’ बनबसाका किराना व्यवसायी समिरले भने, ‘अधिकांशले तेल, दाल, साग, तरकारी र चिनि चियापत्ती तथा अन्य घरायसी प्रयोजनका सामानहरू खरिद गर्छन् ।’ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास र महाकाली पारिको दोधाराचाँदनीका स्थानीयसमेत किनमेलका लागि भारततिरै जाने गर्छन् । उक्त क्षेत्रका स्थानीय सामान्य अवस्थामा पनि घरायसी मालसामान भारतबाटै खरिद गर्दै आएका छन् । यतिबेला गाउँका सबैजना किनमेलका लागि एकैपटक जाने भएकाले भीडभाड बढेको हो ।

चेकजाँचमा कडाइ

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालबाट भारततिर चरेस तस्करी भइरहेको अवस्थामा बरामद गरेपछि चेकजाँचमा कडाइ हुन थालेको छ । पछिल्ला २ महिनामा करिब २० किलोभन्दा बढी चरेस बरामद भइसकेको छ । केहि दिनयता भारत–पाकिस्तानबीचको तनावका कारण पनि सीमामा कडाइ गरिएको हुन सक्ने स्थानीय बताउँछन् ।

विगतमा किनमेलका लागि सीमावर्ती बजारसम्म जानेलाई त्यति कडाइ गरिँदैनथ्यो । अहिले सबैलाई चेकजाँच गरेर मात्रै जान दिने गरेको छ । सवारी साधन इन्ट्रीदेखि ससाना झोलाको चेकजाँच कडाइ गरिरहेको छ । ‘एसएसबीले विगतदेखि नै चेकजाँचमा कडाइ गरिरहेको छ,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई गोकुल बलायरले भने, ‘पछिल्लोपटक लगातार चरेस बरामद हुनु र भारत–पाकिस्तानबीचको तनावका कारण सतर्कता बढाएको हुन सक्छ ।’ चेकजाँचमा कडाइ भएपछि एसएसबी चेकपोस्टमा किनमेलका लागि जानेको भीड लागेको देखिन्छ

Shoping

विशेष