News

भारत हिँडेका ४ सय महिला नेपाल फर्काइए

भारत हिँडेका ४ सय महिला नेपाल फर्काइए
असाेज १९ ।  माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगस्टसम्म आठ महिनाको अवधिमा भारत हिँडेका ४ सय महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ। human-traffikingरोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा लगाइएको पशुपतिनगरस्थित सो संस्थाको शाखाले जनाएको छ। शाखाका कार्यक्रम संयोजक होम ढकालका अनुसार रोजगारीको लागि भारत जान हिँडेका १६ वर्षसम्मका तीन बालबालिका, १८ वर्षसम्मका एक सय ६९ र १८ वर्ष माथिका दुईसय ३२ जना महिला रहेका छन्। सोही अवधिमा विद्यालय पोसाकमै रहेका १२ बालिकालाई भारतको दार्जिलिङ, सिलिगुढी, मिरिक, सुकिया लगायतका स्थानबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको उनले बताए। यसरी विदेशिने ५१ जिल्लाका महिला र बालिका रहेको पाइएको छ। खोजी गरिदिन भन्दै आएका निवेदनका आधारमा अझै ठूलो सङ्ख्यामा हराएका बालिका र महिला भेटिएका छैनन्। गरिबी, बेरोजगारी, अशिक्षा, घरेलु हिंसा र भूकम्पका कारण इलामसहित नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाबाट हराएका महिला र बालिकाको सङ्ख्या उच्च रहेको कार्यक्रम संयोजक ढकाल बताउँछन्। सीमावर्ती क्षेत्रका आठ गाविसमा महिलाकै सक्रियतामा निगरानी समूह बनाएर नियमित गस्तीसमेत गरिरहेको बताइएको छ। आर्थिक वर्ष २०७३/०७४ को दुई महिनाको अवधिमा इलामबाट १४ जना हराएकामा तिनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवको भनाइ छ। हराएका महिला खोजी गरिदिन अनुरोध गर्दै प्रहरीमा दिएको उजुरीका आधारमा बर्सेनि १६ देखि ४० वर्ष उमेर समूहका महिला हराउने गरेको पाइएको छ। आव ०७२/०७३ मा जिल्लाबाट हराएका ७६ महिला तथा बालिका अझै पत्तो नलागेको प्रहरीले जनाएको छ। आव २०७१/०७२ मा एक सय २५ महिला हराएकामा ८६ जना फेला परे पनि ३९ जना अहिलेसम्म भेटिएका छैनन्। आव २०७०/०७१ मा एक सय १६ जना हराएकामा ८५ जना भेटिए पनि ३१ जना अझै फेला परेका छैनन्।

Human tyraffiking ilam Mahila farkayeye

विशेष