News

घोप्टेभिर दुर्घटनाः छानबिन टोली घटनास्थलमा

घोप्टेभिर दुर्घटनाः छानबिन टोली घटनास्थलमा
असोज २० । पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जना त्रिशूली नदीमा बेपत्ता भएपछि सरकारले गठन गरेको छानबिन समितिले आजदेखि स्थलगत अध्ययन थालेको छ । madhav-ghimire समितिमा पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना संयोजक तथा सदस्यमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही, नेपाल प्रहरीका नायब महानिरीक्षक पङ्कज श्रेष्ठ, सडक विभागका उपमहानिर्देशक उमाकान्त झा र इन्जिनियर मधुसूदन साँखी रहेका छन् । समितिले घटनास्थलमा सडकको अवस्था, दुर्घटनाका कारण, उद्धार र खोजी लगायत विषयमा अध्ययन गर्नेछ । सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार समितिका सदस्यले आज बिहान १०ः३० बजेदेखि स्थलगत रुपमा काम थालेका हुन् । यही असोज ९ गते काठमाडौँतर्फ जाँदै गर्दा घिमिरे सवार गाडी पृथ्वी राजमार्गको घोप्टेभिरबाट त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परी पूर्वगृह तथा परराष्ट्रमन्त्री सहित दुई भाइ नदीमा बेपत्ता हुनुहुन्छ भने आमासहित तीन जनाको मृत्यु भएको छ । घाइते चालकको काठमाडौँमा उपचार भइरहेको छ । हालसम्म खोजी जारी रहे पनि गाडी र बेपत्ता व्यक्ति फेला पार्न सकिएको छैन । रासस

madhav ghimire

विशेष