ताजा खबर News

नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति भेट भएको स्थानमा नरेन्द्र मोदी छिरेपछि...

नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति भेट भएको स्थानमा नरेन्द्र मोदी छिरेपछि...

c

असोज ३० । भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रोचक त्रिपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच अनौपचारिक भेटवार्ता भइरहेको कोठामा भारतीय प्रधानमन्त्री मोदी मोदी प्रवेश गरेपछि तीन नेताबीच त्रिपक्षीय हितका विषयमा करिब २० मिनेट छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगै गोवा भ्रमणमा रहेका स्वकीय सचिव समेत रहेका पुत्र प्रकाश दाहालका अनुसार संयोगवश यस्तो भेटको अवसर जुरेको हो । ‘प्रधानमन्त्री प्रचण्डको चिनियाँ राष्ट्रपति सीसँग एक्लै अनौपचारिक भेट भयो र संयोगवश भएको यो भेट पृथक रह्यो’, प्रकाश दाहालले तीन नेताबीच भेटवार्ता भइरहेको फोटो समेत शनिबार राती फेशबुकमा पोष्ट गर्दै भनेका छन, ‘मुख्यतः चिनियाँ राष्ट्रपतिको निकट भविष्यमा हुने भनिएको नेपाल भ्रमण र दुई देशको सम्बन्धबारे खुलस्त छलफल भयो।’

प्रचण्ड र सीबीच भेटवार्ता भइरहेको कक्षमा अचानक मोदी प्रवेश गरेको दाहालले रोचक पारामा बताएका छन् ।  ‘अर्को संयोग भारतीय प्रधानमन्त्री (मोदी) पनि त्यही कक्षमा आउनु भयो र २० मिनेट जति तीन नेताबीच संयुक्त अनौपचारिक भेट भयो’, दाहालले भनेका छन्, ‘(संयुक्त भेटमा) त्रिदेशीय हितका कुरा भयो, नेपाल सानो मुलुक भए तापनि पशुपती र बुद्ध जन्मस्थलले तीन देशलाई जोडेको भन्ने प्रधानमन्त्री प्रचण्डको धारणा थियो ।’

ब्रिक्स–बिमस्टेक सम्मेलनमा सहभागी हुन दक्षिण भारतको गोवा पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच शनिबार साँझ औपचारिक भेटवार्ता भएको थियो। प्रकाश दाहालले त्रिपक्षीय अनौपचारिक भेटवार्ता त्यसअघि भएको हो वा पछि भन्ने खुलाएका छैनन्। तर ब्रिक्स–बिमस्टेक सम्मेलनस्थल गोवाको लिला होटलमा बसेका नेताहरूबीच यसरी अनौपचारिक छलफलको संयोग मिलेको हो।

प्रचण्ड र सी भेट हुनुअघि सी र मोदीबीच पनि दुई पक्षीय भेटवार्ता भएको थियो। जहाँ नेपालको विषयमा समेत छलफल भएको केही स्रोतहरूले दाबी गरेका छन्। प्रचण्डले मोदीसँग भने आइतबार राती मात्र औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

संयोग जस्तो देखिए पनि तीन नेताबीच अनौपचारिक भेटवार्ता गर्ने पूर्व निर्धारित कार्यक्रम रहेको हुनसक्ने पनि बताइएको छ। प्रचण्ड र सीबीच भएको भेटमा त्रिपक्षीय समझदारी र हितका विषयमा समेत छलफल भएकाले यस्तो त्रिपक्षीय भेटघाट तय गरिएको हुनसक्ने केहीको अनुमान छ ।

संयोग वा पूर्व निर्धा्रित जे भए पनि चीन, नेपाल र भारतका कार्यकारी प्रमुखबीच यसरी त्रिपक्षीय भेटवार्ता भएको संभवत्ः यो पहिलो पटक हो।

Prachanda

विशेष