राष्ट्रपतिका उम्मेद्दवारको बारेमा यस्तो बोलिन मिसेल ओबामाले
असोज ३० । गत मंगलबार हामीले ह्वाइट हाउसमा अन्तर्राष्ट्रिय ‘बालिका दिवस’ मनायौँ । प्रथम महिलाका रूपमा बालिकाको सिकाइसम्बन्धी त्यो मेरो अन्तिम कार्यक्रम पनि थियो । मैले उक्त अवसरमा अमेरिका र विश्वका विभिन्न भागका असाध्यै रमाइला युवा महिलासँग घन्टौँ कुराकारी गर्दै गरे । हामीले उनीहरूका आशा र सपनाबारे कुरा गर्यौँ । हामीले उनीहरूका आकांक्षाबारे कुरा गर्यौँ । ती बालिकामध्ये धेरैले केवल स्कुल जान आफ्नो व्यक्तिगत सुरक्षाका जोखिम उठाए । आफ्नो स्वतन्त्रतालाई दाउमा राखेर परिवार तथा समुदायबाट बहिष्कृत हुनसक्ने खतराको समेत सामना गरे मात्र स्कुल जानका लागि ।
मलाई लाग्यो, उनीहरू कति मूल्यवान् र महत्वपूर्ण छन् भनेर उनीहरूलाई बुझाउनु जरुरी छ । मैले उनीहरूलाई कुनै पनि समाजको मापन उक्त समाजले महिलालाई कसरी व्यवहार गर्छ भन्नेमा भर पर्छ भनेर बुझाउन चाहेँ । मैले उनीहरूलाई भनेँ– उनीहरूसँग मर्यादा र सम्मानसाथ व्यवहार गरिन पाउने हक छ । मैले जोड दिएर भनेँ– जसले उनीहरूको अपमान र अवहेलना गर्छ, उनीहरूले त्यसको उपेक्षा गर्नुपर्छ र उनीहरूले आफ्नो आवाज संसारसामु सुनाउनुपर्छ ।
अहिले हामी निर्वाचन अभियानमा छौँ, जहाँ हामी महिलाबारे असाध्यै हानिकारक र घृणास्पद भाषा सुनिरहेछौँ, लगातार । उक्त भाषाले हामी धेरैलाई पीडा दिइरहेको छ । केवल महिला भएका आधारमा मात्र होइन, अभिभावकका आधारमा पनि जो आफ्ना बालबच्चालाई संरक्षण गर्न चाहन्छौँ, उनीहरू मायालु र सम्मान गर्ने खालका बनून् भनेर हुर्काइरहेका छौँ । हाम्रा देशका नेताले आधारभूत मानवीय मूल्य र मान्यता कायम राख्नुपर्छ भनेर सोच्ने हामी नागरिक पनि मर्माहत भएका छौँ । तथ्य के हो भने यो निर्वाचनमा हामीमाझ अमेरिकाका राष्ट्रपतिका लागि यस्ता उम्मेदवार पनि छन, जसले आफ्नो जीवनभरि र निर्वाचन अभियानभरि नै महिलाबारे यस्ता–यस्ता टिप्पणी गरेका छन, जुन आघात दिने मात्र छैनन, यति घटिया पनि छन, जसबारे आज म पुनरुल्लेख गर्नेछैन । हामीले देख्यौँ, गत हप्ता ती उम्मेदवारको एउटा भिडियोे सार्वजनिक भयो जसमा उनले महिलाहरूलाई बलपूर्वक कसरी यौन खेलौनाको रूपमा प्रयोग गरे भनेर आफ्नै बखान गरेको देखियो । म अमेरिकाको राष्ट्रपतिका उम्मेदवारले यौनजन्य हिसाबले महिलामाथि हमला गरेको कुरा सगौरव बताउन सक्छन् भनेर अहिले पनि विश्वास गर्न सक्तिनँ । म उनको हर्कतका विरुद्ध बोल्दै छु, तर राष्ट्रपतिको उमेद्वारले त्यतिसम्म गर्न सक्छ भनेर पत्याउन साच्चै गाह्रो भएको छ ।
मैले तपाईंहरूलाई भन्नैपर्छ, म यसबारे सोच्नसम्म सकिरहेको छैन । यसले मेरो भित्रैसम्म प्रहार गरेको छ, म साच्चै थरथरी कामिरहेकी छु, जसको म पूर्वानुमान नै गर्न सक्दिनथेँ । त्यसकारण, यस्तो भइरहेको छैन भन्ने ठानेर एउटा सामान्य निर्वाचन अभियान हो भनेजसरी प्रस्तुत हुनु भनेको बेइमानी र धुत्र्याइँ मात्र हुन जान्छ ।
यो हामीले उपेक्षा गर्न मिल्ने सामान्य विषय मात्र होइन । कष्टकर निर्वाचनको माहोलमा अर्को एउटा समस्या थप्ने विषय मात्र हो भनेर पन्छाउन मिल्ने विषय पनि यो होइन । किनभने, यो ‘अशिष्ट बातचित’ मात्र पनि होइन । यो बन्द कोठामा गरिएको भद्दा मजाक मात्र पनि होइन । यो त एउटा शक्तिशाली व्यक्ति महिलामाथि खुला रूपमा हिंस्रक बनेको यथार्थ हो । उनी आफैले गरेको यौन दुव्र्यवहारको तथ्य हो, महिलालाई जबर्जस्ती चुम्बन गरेको र उनीहरूलाई छामछुम गरेकोमा आफ्नै प्रशंसा गरेको विषय हो । उनले यति अश्लील भाषा प्रयोग गरेका छन् कि टिभी खोल्दा पनि डराउनुपर्ने भएको छ, कतै हाम्रा बालबच्चाले त्यो नसुनून् ।
अझ डरलाग्दो के छ भने यो केवल एउटा घटना मात्र होइन । यो उनले आफ्नो सम्पूर्ण जीवनमा कसरी महिलाप्रति व्यवहार गरेका छन् भन्ने असंख्य उदाहरणमध्ये एक हो । मैले यहाँ उल्लेख गर्नैपर्छ, जब मैले त्यो सबै सुनेँ, उनले मलाई नै भनेका हुन् कि जस्तो लाग्यो । म निश्चित छु, तपाईंहरूलाई पनि त्यही लागेको हुनुपर्छ, खासगरी महिलालाई । हाम्रा शरीरबारे कस्तो लाजमर्दो टिप्पणी, हाम्रा आकांक्षा र विचारशक्तिको कति ठूलो अनादर, महिलामाथि जे चाह्यो त्यो गर्नसक्छु भन्ने कस्तो अहंकार ?
यो भनाइ अत्यन्त क्रुर छ । यो डरलाग्दो छ । सत्य के हो भने यसले आघात पुर्याउँछ । यसले पीडा दिन्छ । यो त्यस्तै अस्वस्थ र घटिया टिप्पणी हो, जब तपाईं आफ्नै सुरमा सडकमा हिँडिरहेका वेला केही हुल्याहाले तपाईंको शरीरबारे अश्लील शब्द उच्चारण गर्छन् । अथवा, कुनै पुरुष तपाईं काम गरिरहेका वेला असाध्यै नजिक आउँछ, घुरेर हेरिरहन्छ र तपाईंलाई खुबै असजिलो महसुस गराउँछ ।
यो यस्तो आतंक र अपमानको अनुभूति हो, जुन कैयौँ महिलाले भोगेका छन, जब उनीहरूलाई कसैले समातेको हुन्छ, उनीहरूको हुन्न भन्दाभन्दै पनि पुरुषले सुन्दै सुन्दैन । यस्ता कैयौँ घटना कलेज, क्याम्पस तथा अन्य स्थानमा हरेक दिन हुन्छन् । यसले हामीलाई हाम्रा आमा तथा हजुरआमाले भनेका कथाको याद दिलाउँछ, जहाँ मालिकहरू अफिसमा महिलामाथि जे मन लाग्यो, त्यही गर्थे ।
हामीलाई लाग्थ्यो, यो सबै पुरानो इतिहासको कुरा हो । होइन त ? हामी धेरैले यस्तो खालको हिंसा र दुव्र्यवहारलाई अन्त्य गर्न वर्षौं काम गरेका छौँ । तर, आज हामी २०१६ मा छौँ, तैपनि हामी निर्वाचन अभियानका हरेक दिन त्यस्तै सुन्न बाध्य छौँ । हामी यसमा डुब्दै छौँ । तर, हामी महिलाले सधैँ गर्दै आएको व्यवहार देखाइरहेका छौँ, हामी पानीमाथि आफ्नो टाउको निकाल्दै छौँ र यसले त मलाई खासै असर गर्दैन भन्ने बहाना गरिरहेका छौँ । हुन सक्छ, यसले कति पीडा दिन्छ भनेर स्विकार्नुको अर्थ हामी महिलालाई कमजोर बनाउनु हो भन्ने पनि सोच्छौँ । सायद हामी असुरक्षित हुन्छौँ भनेर पनि डराएका हुन सक्छौँ । सायद हामी यस्ता भावना पचाउँदै र चुपचाप रहन सिक्दै हुर्किएका हौँ किनकि पुरुषले हाम्रा विचारलाई त्यति महत्व नदिएको पनि देखेका छौँ । अथवा, महिलाबारे सोच्ने मानिस पनि छन् भनेर हामी विश्वास गर्न चाहँदैनौँ । धेरै मानिस यसलाई अर्को दिनको मुख्य समाचारका रूपमा मात्र व्यवहार गरिरेहका छन् । मानौँ, हाम्रो आक्रोश हदभन्दा धेरै छ वा अनुचित छ, मानौँ यो सामान्य हो, नियमित राजनीति हो ।
तर, यो सामान्य होइन । यो नियमित राजनीति पनि होइन । यो अपमानजनक छ । यो असह्य छ । र, तपाईं डेमोक्र्याट, रिपब्लिकन वा स्वतन्त्र जुन पार्टीको भए पनि कुनै पनि महिलामाथि यस हिसाबको व्यवहार होस् भन्ने चाहनुहुन्न । त्यसैले तपाईं यसको विपक्षमा उभिनुपर्छ ।
यो राजनीतिसँग मात्र सम्बन्धित पनि छैन । यो एउटा आधारभूत मानवीय मूल्यको विषय पनि हो । यो सही र गलतसँग सम्बन्धित छ । हामी यस्तो एक मिनेट पनि सहन गर्नै सक्दैनौँ, चार वर्ष त के ? अब समय आएको छ, एकजुट हुने र हदभन्दा ज्यादा भयो भन्ने । यो यहीँ रोकिनुपर्छ ।
यो, हामी हुर्केबढेका महिलाका लागि त यति पीडादायी छ भने हाम्रा बालबच्चालाई यसले के गरेको होला ? बालबच्चाका लागि आदर्श हुनुपर्ने मान्छेबाट यस्ता कुरा सुन्दा हाम्रा बालबालिकाले के सन्देश प्राप्त गरिरहेका होलान् ? आफ्ना सपना र आकांक्षाबारे के शिक्षा लिइरहेका होलान् ? र, यसले यो देशमा पुरुष र बालकलाई कसरी प्रभावित गरिरहेको छ ? किनकि, म भन्न सक्छु, मेरो परिवारका पुरुषले महिलाबारे यसरी कुरा गर्दैनन् । र, मलाई थाहा छ मेरो परिवार मात्र असामान्य होइन । यो सबैतिरका सभ्य पुरुषका लागि पनि अपमान हो ।
तपाईंले र मैले चिनेको पुरुषले महिलालाई यस प्रकार व्यवहार गर्दैन । उनीहरू असल बाबु हुन, जो आफ्ना छोरीहरू यस्ता घटिया टिप्पणी सुन्न बाध्य हुन्छन् कि भनेर चिन्तित भइरहन्छन् । उनीहरू श्रीमान् तथा दाजुभाइ वा छोराहरू हुन्, जो महिलाहरू यति अपमानित भएको, अनादर भएको सहन सक्दैनन् । र, हामीजस्तै, यी पुरुष पुरुष हुनुको अर्थ के हुन्छ भनेर आदर्श पात्र खोजिरहेका छन् ।
कुनै महिलाले अस्तिमात्रै मलाई ६ वर्षीय छोराबारे एउटा घटना सुनाएकी थिइन् । उनीहरू सँगै समाचार सुनिरहेका थिए । सानो केटोले त्यत्तिकै भनेछ, ‘मलाई लाग्छ हिलारी क्लिन्टनले जित्नेछिन् ।’ उनकी आमाले सोधिछिन्, ‘तिमीलाई किन त्यस्तो लाग्छ ?’ र, ६ वर्षीय बच्चाले भनेछ, ‘अर्को उम्मेदवारले त अरू महिलालाई सुँगुरको बच्ची भनेछ नि त । अरूलाई सुँगुरको बच्चा भन्ने मान्छे राष्ट्रपति हुन सक्दैन ।’ त्यसकारण, एउटा ६ वर्षको बच्चालाई पनि राम्रोसँग थाहा छ, एउटा वयस्कले यसरी व्यवहार गर्ने होइन भनेर ।
प्रस्ट हुनुपर्छ, बहादुर पुरुषहरू, जो वास्तवमै आदर्श पात्र छन्, लाई आफू शक्तिशाली छु भन्ने अनुभूति गर्न महिलालाई होच्याउनुपर्दैन । जो मानिस सा“च्चिकै शक्तिशाली छ, उसले अरूलाई अगाडि बढ्न मद्दत गर्छ, अरूलाई संगठित गर्छ । हामीलाई आगामी राष्ट्रपतिमा चाहिएको गुण नै यही हो । हामीलाई त्यस्तो नेता चाहिएको छ, जसमा यो देशलाई एकीकृत गराउने शक्ति होस् । हामीलाई त्यस्तो नेता चाहिएको छ, जसले हामीलाई विभाजन गर्ने घाउमा मलम लगाओस्, हामी र हाम्रा बालबच्चाको ख्याल राखोस्, यो देशलाई सामथ्र्य र करुणासाथ अगाडि लैजाओस् । मलाई भन्ने मौका दिनुहोस्, म यहाँ उपस्थित भएकी छु किनकि मलाई हृदयैदेखि विश्वास छ कि हिलारी क्लिन्टन त्यो राष्ट्रपति हुनेछिन् । हिलारी नै यो पदका लागि सही व्यक्ति हुन् किनभने हामीले उनको चरित्र र प्रतिबद्धता यो निर्वाचन अभियानमा मात्र होइन, जीवनभरि देखेका छौँ । वास्तवमा, हिलारीमा हामीले हाम्रा युवालाई सिकाउन खोजेका कैयौँ मूल्य छन् । हामी युवालाई भन्छौँ, स्कुलमा मिहिनेत गर, राम्रो शिक्षा आर्जन गर । हामी उनीहरूलाई अरूलाई मद्दत गर्न पनि प्रेरित गर्छौं । हिलारीले आफ्नो कलेज र कानुनको डिग्रीका क्रममा बालबच्चा र अशक्तका पक्षमा आवाज उठाइन् । प्रथम महिला हुँदा बालबालिकाको स्वास्थ्य र हेरचाहका लागि लडिन् ।
हामी हाम्रा बालबच्चालाई टिमको सदस्यका रूपमा कसरी काम गर्ने भनेर सिकाउँछौँ । हिलारीले २००८ को निर्वाचनमा पराजित भएपछि त्यसको उदाहरण दिइन्, आफ्नै प्रतिद्वन्द्वीका लागि विदेशमन्त्रीका रूपमा काम गर्न उनी राजी भइन् ।
हामी हाम्रा बालबालिकालाई जीवनमा चोरबाटो नसमात्नु भनेर पनि सिकाउँछौँ, आफूसम्बद्ध पेसा व्यवसायमा अर्थपूर्ण सफलताका लागि कोसिस गर्न भन्छौँ । हिलारीले वकिलका रूपमा काम गरेकी छिन्, उनी अर्कान्ससकी प्रथम महिला भइन्, अमेरिकाकी प्रथम महिला भइन्, अमेरिकाकी सिनेटर भइन्, विदेशमन्त्रीको भूमिका पनि निर्वाह गरिन् । उनी आफ्ना सबै भूमिकामा सफल भइन् । झन् बढी झन् अनुभव लिइन् । हिलारीले राष्ट्रपतिका लागि हाम्रो जीवनकालका उम्मेदारभन्दा बढी पहुँच बनाएकी छिन्, ओबामा र बिल क्लिन्टनभन्दा पनि ज्यादा । र, उनी सौभाग्यवश एक महिला हुन् ।
सत्य के हो भने या त हिलारी अथवा उनका प्रतिद्वन्द्वी यो वर्ष राष्ट्रपतिमा निर्वा्चित हुनेछन् । हिलारीबाहेक कोही अरूलाई भोट हाल्नुभयो भने वा भोट नै हाल्नुभएन भने तपाईं उनका प्रतिद्वन्द्वीलाई जित्न सहयोग गरिरहनुभएको हुनेछ । अनुमान गर्नुस् त त्यसो भयो भने तपाईंलाई कस्तो अनुभूति हुनेछ ? नोभेम्बर ९ को बिहान उठेर आफ्ना छोरी वा छोराको आँखामा हेर्दा वा ऐनामा हेर्दा कस्तो महसुस होला भनेर अनुमान गर्नुस् त । नोभेम्बर ८ मा तपाईं घरमै बस्नुभयो भने वा हिलारीलाई जिताउन सम्भव सबै गर्नुभएन भने कस्तो महसुस होला भनेर अनुमान गर्नुस् त ।
हामीले हिलारीको प्रतिस्पर्धीलाई जित्ने मौका दियौँ भने हामी हाम्रा छोराछोरीलाई प्रस्ट सन्देश दिएका हुनेछौँ, जे छ सब ठीक छ । हामी त्यसलाई वैधानिकता दिनेछौँ । हामी त्यसलाई अनुमोदन गर्नेछौँ । हामी हाम्रा छोराहरूलाई भनिरहेका हुनेछौँ, महिलालाई अपमान गर्नु ठीक छ । हामी हाम्रा छोरीहरूलाई भनिरहेका हुनेछौँ, तिमीहरू यसरी नै व्यवहार गरिनलायक छौ । हामी हाम्रा बालबच्चालाई भनिरहेका हुनेछौँ, हाम्रो देशका नेतामा हठी स्वाभाव र अहंकार बिल्कुल स्वाभाविक छ । के हामी हाम्रा बालबच्चाका लागि यही चाहन्छौँ ? नयाँ पत्रिका
Michel Obama