अपराध सुरक्षा ताजा खबर News

बलात्कारपछि हत्या भएको ४ वर्षपछि क्षतिपूर्ति

बलात्कारपछि हत्या भएको ४ वर्षपछि क्षतिपूर्ति

rape असोज ३० । बलात्कारपछि हत्या गरिएकी रामेछापकी एक बालिकाका परिवारलाई गृह मन्त्रालयले क्षतिपूर्ति दिएको छ । रामेछापको सैपु १ सिसन्दुकी १४ वर्षीया सुन्तली तामाङका परिवारलाई घटनाको ४ वर्षपछि सरकारले क्षतिपूर्ति दिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले ‘घटनाको उचित छानबिन तथा सजाय–कारबाही’ का लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ताकेता गर्दै आएको थियो । आयोगको अनुसन्धान महाशाखाले गत वर्ष चैत १ मा नेपाल सरकारलाई लेखेको निर्देशन पत्रअनुसार गृह मन्त्रालयले यो साता मृतक सुन्तलीका हकमा आमा डिल्लीमायालाई क्षतिपूर्तिसरह ६ लाख रुपैयाँ प्रदान गरेको हो ।

‘मृतकका हकवालालाई बारा, कलैयाकी बालिका पूजा साहलाई यस्तै प्रकृतिका घटनामा उपलब्ध गराएसरह राहत क्षतिपूर्ति उपलब्ध गराउनुका साथै पीडित परिवारले न्यायको खोजीमा गरेको खर्च र आन्तरिक रूपमा विस्थापित भएको अवस्थामा भएको आर्थिक क्षति समेतको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने’ निर्णय आयोगले गरेको थियो । क्षतिपूर्तिबापतको रकम मृतक बालिका आमा डिल्लीमायाा तामाङको रामेछाप, मन्थलीमा रहेको कृषि विकास बैंकको खातामा जम्मा गरिएको हो ।

एउटै गाउँ बस्ने श्याम राउतसहितले बलात्कार गरी हत्या गरेर नजिकै लिखु नदीमा शव फालिदिएको यो प्रकरणमा बालिका सुन्तलीकी आमा डिल्लीमायाले नेपाल सरकारका विभिन्न निकायमा न्यायिक अधिकारका लागि आवाज उठाउँदै आएकी थिइन् । डिल्लीमायाले हत्यारा भनी किटानी जाहेरी दिएपछि हालसम्म फरार रहेका राउतलाई सजायको दायरामा नल्याइन्जेल आफू चुप लागेर बस्न नसक्ने भन्दै काठमाडौंसम्म धाएर मुख्य सचिव, प्रहरी महानिरीक्षकसहितलाई बिन्ती गरेकी थिइन् । सुन्तलीको २०६८ साल माघ ५ गते हत्या भएको थियो ।

बारा, कलैया ८ मा २०७१ फागुनमा ६ वर्षीया बालिका पूजा साहमाथि उस्तै प्रकृतिको नृशंस घटनामा परेर ज्यान गएको तथा त्यसबेलाको क्षतिपूर्ति र अभियुक्तलाई सजाय दिलाइएको सन्दर्भलाई मानव अधिकार आयोगले ‘नजिर’ बनाएको हो । कलैयामा फागुन ९ गते बलात्कृत भएकी बालिका साहको उपचार क्रममा फागुन २४ गते काठमाडौंको कान्ति बाल अस्पतालमा निधन भएको थियो । उक्त घटनामा जोडिएका हत्यारा कलैया ४ का कन्यैहालाल गुप्तालाई जिल्ला अदालतले ३५ वर्षे जेल सजायसहित क्षतिपूर्ति भराउने निर्णय सुनाएको थियो । उक्त घटनामा गृह मन्त्रालयले मृतक परिवारलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो ।

तर, रामेछापको सुन्तली हत्या प्रकरणमा किटानी जाहेरीमा रहेका अभियुक्त श्याम राउतलाई भने प्रहरीले अझै खोजी गर्न सकेको छैन । अर्कातिर सुन्तली हत्या प्रकरणमा किटानी जाहेरी दर्ता गर्नसमेत आनाकानी गर्ने तत्कालीन रामेछाप जिल्ला प्रहरी प्रमुख सञ्जीव शर्मा दासलाई विभागीय कारबाही गर्न मानव अधिकार आयोगले निर्देश गरेकोमा उल्टै पदोन्नति तथा पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइएकोमा पीडित डिल्लीमायाले ‘न्याय पाउनकै लागि पनि आफूले अरू आवाज उठाइरहने’ बताइन् । ‘मलाई आफ्नी छोरी मारिएपछि पैसाको क्षतिपूर्ति पाउनुभन्दा पनि हत्याराको खोजी र सजायको दायरामा ल्याउन सकेमा ठूलो न्याय मिलेसरह हुन्छ,’

Rape

विशेष