अर्थ ताजा खबर News

अफगानिस्तान जाने बाटो खुल्यो, सरकारले लगाएको प्रतिबन्ध फुकुवा

अफगानिस्तान जाने बाटो खुल्यो, सरकारले लगाएको प्रतिबन्ध फुकुवा

afaganisan असोज ३० । सरकारले सेक्युरिटी गार्ड र अन्य काममा अफगानिस्तान जान लगाएको प्रतिबन्ध करिब चार महिनापछि हटाएको छ । गत असार ६ मा अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि तत्कालिन केपी ओली सरकारको मन्त्रिपरिषद् बैठकले अफगानिस्तान जानमा प्रतिबन्ध लगाएको थियो ।

दसैंअघि बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तान जान लगाएको प्रतिबन्ध हटाएको बैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए । ‘धेरै व्यक्तिले प्रतिबन्ध हटाउनुपर्ने र सोचेजस्तो जोखिम नभएको बताए,’ उनले भने, ‘संयोग र परिस्थितिले त्यस्तो भएको धेरैले बताएपछि सरकारले हटाएको हो ।’ पुडासैनीका अनुसार प्रतिबन्ध हटाउनमा नेपालस्थित अमेरिकी दुतावास र क्यानेडेली दुतावासले पनि सरकारलाई आग्रह गरेका थिए ।

ग्रिन जोनमा काम गर्नका लागि मात्रै प्रतिबन्ध फुकुवा भएको पुडासैनीले बताए । उनका अनुसार ड्युटी हुने ठाउँमै आवास राख्नुपर्ने वा बाहिर राखिएको भए ड्युटीस्थलबाट उच्च सुरक्षा व्यवस्था गरेर आवासस्थल सम्म लाने ल्याउने व्यवस्था कम्पनीले गर्नुपर्ने सर्त थपिएको छ । पुडासैनीले भने, ‘श्रम स्विकृति दिंदा नै कामदार राख्ने कम्पनीले यी सुरक्षा व्यवस्थाको प्रत्याभूति गराएको हुनुपर्नेछ ।’

अफगानिस्तान कामदार पठाउन हुने नहुने विषयमा निष्कर्ष निकाल्न तत्कालिन श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा ९ असारमा सरकारले कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने, कार्यस्थलमै सुरक्षा बासस्थानको ग्यारेन्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने सुझाएको थियो ।

Afaganistan

विशेष