अपराध सुरक्षा ताजा खबर News

पूर्वसांसदको परिवारै ‘लागूऔषध तस्करी’मा संलग्न

पूर्वसांसदको परिवारै ‘लागूऔषध तस्करी’मा संलग्न

lagu

कातिक १ । लागूऔषध नियन्त्रण ब्युरोको एक टोली अहिले पूर्वसांसद मधुसूदन अग्रवालको परिवारको खोजीमा खटिएको छ। औषधि बनाउने आवरणमा भित्र्याइएको सहायक रसायन स्युडोफिड्रिन तस्करी गरेको आरोपमा प्रहरीले अग्रवाल, उनका भाइ अमित अग्रवाल, श्रीमती, बुहारी र छोराको खोजी गरेको हो।

अग्रवाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पूर्वसांसद हुन्। मधुुसूदन र उनका भाइ अमितको नाममा रहेको एसआर ड्रग्स र टौरस ल्याब फर्माले स्विटजरल्यान्डबाट ल्याएको स्युडोफिड्रिन औषधि नबनाई अन्यत्र पठाएको खुलेपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो। ‘औषधि बनाउन भित्र्याएको रसायन दुरुपयोग भएको देखिएपछि हामी अनुसन्धानमा छौं,’ ब्युरोका डीआईजी जयबहादुर चन्दले भने, ‘दुवै उद्योगमा छापा मार्दा दुरुपयोग भएको देखिन्छ, तर अग्रवाल परिवारसहित फरार छन्।’

औषधि व्यवस्था विभागबाट लिएको आयात अनुमति विवरणअनुसार सतुंगलमा रहेको एसआर र धादिङको धार्केमा रहेको टौरसले औषधि बनाउन ३ हजार ५ सय किलोभन्दा बढी स्युडोफिड्रिन नेपाल मगाएको देखिएको छ। तर, उनीहरूले स्युडोफिड्रिन औषधि उत्पादन गर्न प्रयोग नगरी अवैध रूपमा भारत हुंँदै चीन लगायतका देशमा पठाएको अनुसन्धानमा देखिएको छ।

स्रोतका अनुसार यी दुवै कम्पनीले स्युडोफिड्रिन प्रयोग हुने कोल्ड ट्याब्लेट, कफ सिरप लगायतका औषधिको नक्कली विवरण बनाएर औषधि व्यवस्था विभागबाट स्युडोफिड्रिन मगाउने अनुमति माग्ने गरेका थिए । उनीहरूले पेस गरेको नक्कली खपतको विवरणकै आधारमा लामो समयदेखि विभागले उनीहरूलाई स्विटजरल्यान्डबाट स्युडोफिड्रिन ल्याउने अनुमति दिँदै आएको थियो।

प्रहरी अनुसन्धानमा उनीहरूले औषधि बनाउने आवरणमा सहायक रसायन तस्करी गर्ने गरेको खुलेपछि बल्ल विभागले दुवै कम्पनीले पाएको औषधि उत्पादनको अनुमति पत्र निलम्बन गरेको थियो।

औषधि बनाउने सहायक रसायन स्युडोफिड्रिन पार्टी ड्रग्सका रूपमा प्रयोग हुने आइस्ड ड्रग्स बनाउन प्रयोग हुन्छ। नेपालमा कोल्ड ट्याब्लेटहरूमा स्युडोफिड्रिनको प्रयोग हुने गरेको छ। कोल्ड ट्याब्लेटमा हुने स्युडो रसायन प्रक्रियाबाट निकाल्न चिनियाँहरूले नेपालबाट ती ट्याब्लेट तस्करी गर्ने गरेका छन्।

औषधि बनाउने सहायक रसायन स्युडोको दुरुपयोग बढेपछि पछिल्लो समय भारतले यसको निर्यातमा कडाइ गर्दै वैकल्पिक रसायन प्रयोग सुरु गरेको छ। नेपालमा भित्रिएको स्युडोफिड्रिन प्रयोग हुने औषधि तस्करी हुने गरेको खुलेपछि औषधि व्यवस्था विभागले तीन वर्ष अगाडिबाट यसको वैकल्पिक रसायन प्रयोगको प्रयास गरे पनि सफल भएको छैन।

मामाको पक्राउपछि भान्जाको पोल खुल्यो

पवन संघाई र रतनलाल संघाईले आर्य फर्मा ल्याबका नाममा नेपाल भित्र्याएको स्युडोफिड्रिन तस्करी हुने गरेको खुलेपछि प्रहरीले साउन १५ मा रतनलाललाई अन्य सहयोगीसहित पक्राउ गरेको थियो।

अनुसन्धानमा उनीहरूले सहयोगीमार्फत औषधि बनाउन भित्र्याएको स्युडोफिड्रिन ललितपुरस्थित संघाई प्लास्टिक इन्डस्ट्रिजको गोदाममा राखेर भारत हुँदै चीन तस्करी गर्ने गरेको खुलेपछि ब्युरोले ५ सय किलो स्युडोफिड्रिन बरामद गरेको थियो। ब्युरोले रतनसँगै मोहित हलान, दिलीप पण्डित, श्याम तामाङ मोक्तान, बद्री वन पक्राउ गरेको थियो। रतनका भाइ पवन फरार भए।

आर्य फर्माका सञ्चालक र सहयोगी पक्राउ परेको तेस्रो दिन अर्का औषधि उत्पादक तथा रतनका भान्जा मधुसूदन परिवारसहित भूमिगत भएको सूचना ब्युरोले पायो। अनुसन्धानका क्रममा उनीहरूले समेत ठूलो परिमाणमा स्युडोफिड्रिन नेपाल भित्र्याउने गरेको विवरण खुल्यो, तर त्यसअनुसार औषधि उत्पादन गरेको विवरण खुलेन।

अनुसन्धान अधिकारीका अनुसार दुवै कम्पनीको नाममा नेपाल भित्रिएको स्युडोफिड्रिन ड्रमसहित तस्करी हुने गरेको खुलेपछि प्रहरीले सोहीअनुसारको बेहोरा प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा पठाएको थियो। गृहले अनुसन्धान अगाडि बढाउन निर्देशन दिएपछि प्रहरीले दुवै कम्पनीमा छापा मार्‍यो। ‘कम्पनीमा छापा मार्दा स्युडोफिड्रिन फेला परेन, तर उनीहरूले औषधि उत्पादन नगरी स्युडोफिड्रिन डाइभर्सन गरेर अन्यत्र पठाएको देखियो,’ डीआईजी चन्दले भने।

ब्युरोका एसएसपी गणेश केसीका अनुसार औषधि उत्पादनका लागि मगाएको सहायक रसायन औषधि उत्पादनमा प्रयोग भएसम्म रसायन मानिन्छ। त्यसको डाइभर्सन गरी अन्यत्र अवैध रूपमा पठाए लागूऔषध कारोबार मानिन्छ। ‘स्युडोफिड्रिनको डाइभर्सनले औषधि उत्पादनका लागि नभई लागूऔषध बनाउन दुरुपयोग भएको पुष्टि हुन्छ,’ केसीले भने, ‘दक्षिण एसिया र मध्यपूर्वीय देशमा अहिले यो ठूलो समस्याका रूपमा देखिएको छ।’

पवन र रतन मुख्य योजनाकार

आर्य फर्माको नाममा भएको स्युडोफिड्रिनको तस्करीको अनुसन्धानमा पवन र रतनलाल संघाई तस्करीका मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ। ब्युरोले तीन महिना लगाएर गरेको अनुसन्धानमा यी दुवैले औषधि बनाउने आवरणमा स्विटजरल्यान्डबाट सहायक रसायन नेपालमा भित्र्याएर औषधि बनाएको नक्कली विवरण तयार गरी स्थलमार्गबाट त्यसलाई भारत र चीन तस्करी गर्ने गरेको निष्कर्ष निकालेको छ। त्यहीअनुसारको अनुसन्धान प्रतिवेदन जिल्ला न्यायाधिवक्ताको कार्यालय ललितपुरमा बुझाइएको छ।

असोज २८ गते ब्युरोले पठाएको प्रस्तावित राय सुझावमा प्रहरी हिरासतमा रहेका रतन र फरार रहेका पवनलाई मुख्य योजनाकार ठहर गर्दै उनीहरूलाई २ देखि १० वर्षसम्मको कैद सजायको माग दाबीको प्रस्ताव गरिएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। प्रहरीले मोहित हलान, बद्रीप्रसाद वन, श्याम तामाङ, दिलीप पण्डित, शंकरलाल हलान, रोहित हलानलाई समेत प्रतिवादी बनाएको छ । शंकरलालसमेत सहायक रसायन तस्करीको मुख्य सहयोगी रहेको प्रहरीको ठहर छ।

Lagu Ausad

विशेष