ताजा खबर विदेश News

थाइल्याण्डका जनताले एक वर्षपछि मात्र अर्को राजा पाउने

थाइल्याण्डका जनताले एक वर्षपछि मात्र अर्को राजा पाउने

abdulej कात्तिक १ । थाई युवराज महा भजिरालोङले अर्को सालमात्र मात्र राजगद्दीको सपथ लिने भएका छन् । थाई सरकारले उक्त कुराको पुष्टि गरेको छ । गद्दीसिन राजा भूमिबोलको गत बिहीबार निधन भएपछि नयाँ राजा चयनबारे विभिन्न अड्कलबाजीहरु सुरु हुन थालेका थिए । युवराजले पिताको शोककालागि प्रशस्त समय लिन चाहेको बताएपछि सरकारले युवराजकै चाहाना अनुसार गद्दी आरोहण अर्को वर्षमात्र गर्ने जनाएको हो ।

यो सँगै सरकारले पूर्व प्रधानमन्त्री प्रेम तिनसुलानेन्दालाई राजप्रसादको उत्तराधिकारी नियुक्त गरेको छ । अघिल्लो दिन मात्र थाई प्रधानमन्त्री प्रायुथ चान ओचाले थाई जनतालाई टेलिभिजनमा सम्बोधन गर्दै सरकारले चाँडै नै उपयुक्तः निर्णय गर्ने बताएका थिए ।

‘६४ वर्षीय युवराजले जनतालाई उत्तराधिकारीका विषयमा दुविधामा नपर्न तथा चिन्तित नहुन आग्रह गर्नु भएको छ,’ सरकारको निर्णय सार्वजनिक भए लगत्तै सेना प्रमुख जनरल प्रायुथले दिएको टेलिभिजन अन्तर्वार्तामा बताएका थिए । उनको सन्देश उद्दृत गर्दै प्रायुथले भनेका थिए,‘ यो समयमा जनता दुःखी छन् र म पनि दुःखी छु । त्यसैले सबैले यो दुःखको घडी पार नहुँदासम्म प्रतिक्षा गर्नुपर्ने छ ।’

तर यसअघि भने युवराजको क्षमतामाथि भने बारम्बार प्रश्न उठ्ने गरेको थियो । तर कानुनले राजपरिवारमाथि खुल्ला रुपमा टिप्पणी गर्न बन्देज लगाएका कारण यस्ता टिप्पणी घरभित्र मात्रै सिमित हुने गरेका थिए ।

जनरल प्रायुथले ‘कू’ मार्फत् सन् २०१४ मा नागरिक सत्ता हत्याएका थिए । उनले अर्को साल चुनाव गराउने घोषणा गरेका छन् । राजा तथा राजदरबार राजनीतिक संकटको समयमा एकताको प्रतिकको रुपमा रहने गरेका छन् । खासगरी राजा भूमिबोलको समयमा राजाको भूमिका झनै प्रभावशाली भएको थियो र ८८ वर्षिय राजा यसको पक्का उदाहरण थिए ।

अर्को वर्ष थाई जनताले नयाँ राजा पाउने भएपनि कुन महिनामा पाउँछन् तय भएको छैन । राजाको मृत्युपछि त्यहाँका च्यानलले शोक मनाउन मनोरञ्जक सामाग्री प्रसारणमा रोक लगाएका छन् । खेलकुदका कार्यक्रम पनि लगभग रोकिएको अथवा कम गरिएको छ । राजाको मृत्युमा शोक जताउन त्यहाँका जनताले कालो लुगा लगाई शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए । राजाको मृत्यु संस्कारको मिति पनि अहिलेसम्म तय भएको छैन । तर एक वर्षे सरकारी शोक समय पूरा नभएसम्म नहुने अनुमान गर्न सकिन्छ ।

Thailand King

विशेष