विदेश

मोसुल सहर नियन्त्रणमा लिन अन्तिम कारबाही सुरु

मोसुल सहर नियन्त्रणमा लिन अन्तिम कारबाही सुरु
कार्तिक - २ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले विद्रोही समूह इस्लामिक स्टेटका लडाकुहरुको नियन्त्रणमा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई पुनः आफ्नो नियन्त्रणमा लिनका लागि सैन्य कारबाही शुरु भएको बताएका छन् । isis मध्येरात सरकारी टेलिभिजनमार्फत गरिएको सम्बोधनमा प्रधानमन्त्री अबादीले कारबाहीको समय आएको र ठूलो जितको क्षण नजिकिएको बताए । कुर्दहरुको पेशमेर्गा लडाकु समूह, इराकी सरकार र सम्बद्ध फौजबाट भएको आइएसविरुद्धको हमलालाई अमेरिकी नेतृत्वको गठबन्धनको समर्थन रहेको छ । मानवीय सहायता समूहहरुले उक्त क्षेत्रमा ठूलो संख्यामा गैरसैनिकको हताहती हुनसक्ने चेतावनी दिएका छन् । मध्यरात सरकारी सञ्चारमाध्यमबाट उक्त घोषणा गर्दै प्रधानमन्त्री अबादीले आफूहरु ठूलो जितको नजिक रहेको दाबी गरेका थिए । सुन्नीहरुको बाहुल्यता रहेको मोसुल शहरमा केवल सरकारी फौजमात्रै प्रवेश गर्नसक्ने पनि उनले बताए । इस्लामिक स्टेटले तीब्र हमला गर्दै मोसुलसहित पश्चिम इराकको ठूलो भूभागलाई सन् २०१४ मा आफ्नो कब्जामा पारेको थियो । मोसुल, उक्त विद्रोही समूहको इराकमा रहेको महत्वपूर्ण र बलियो पकडको क्षेत्र हो । त्यसको धेरै क्षेत्रलाई अहिले पुन: सरकारी नियन्त्रणमा लिइएको छ । अमेरिकी लडाकूविमानहरुले मोसुल सहरमा आक्रमण गरिरहेका छन् । इराकका सेनाले महिनौंसम्म त्यहाँ ठूलो हमलाको लागि तयारी गरिरहेका थिए । उक्त शहरको नियन्त्रण गुमाउनुले इराकमा इस्लामिक स्टेटको हारको संकेत गर्ने अधिकारीहरुले बताएका छन् । मोसुल शहरबाट नै इस्लामिक स्टेटका नेता अबु बक्र अल बग्दादीले उक्त क्षेत्रलाई इस्लामवादी कानुन शासित राज्य क्यालिफेट भनेर घोषणा गरेका थिए । आइएसविरुद्धको गठबन्धनका लागि अमेरिकाका दूतले ट्वीटरमार्फत उक्त ऐतिहासिक कारबाहीका लागि इराकको पक्षमा उभिन पाउँदा आफूलाई गर्व लागेको बताए । मोसुल शहरमा कति मानिसहरु बाँकी छन् भन्ने यकिन तथ्यांक छैन तर दुई वर्षभन्दा अघि आइएसले आफ्नो नियन्त्रणमा लिँदा त्यहाँ २० लाख भन्दा बढी मानिस थिए । मोसुल तेल उत्पादन गर्ने इराकको दोस्रो ठूलो सहर मानिन्छ । नयाँ तथ्यांक अनुसार आइएसले आफूले कब्जा गरेको भूभागको करिब एक चौथाइ क्षेत्र गुमाइसकेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले कारबाहीका कारण त्यहाँ मानवीय सहायताका लागि ठूलो प्रभाव पार्ने र त्यसले १२ लाखसम्म मानिसहरुलाई असर गर्ने चेतावनी दिएको छ ।

Attact Iraq ISIS priminister

विशेष