गोवा त्रिदेशीय वार्ताको एमालेद्वारा जवाफ माग

कात्तिक - २ । भारतको गोवा भ्रमणका बेला ‘त्रिदेशीय वार्ता’ भएको भनिएको सन्दर्भमा प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेले संसदमा मंगलबार जवाफ मागेको छ । भारतको गोवामा प्रधानमन्त्रीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ३० मिनेट त्रिपक्षीय भेटवार्ता भएको थियो ।
होटलको वेटिङ रुममा दाहाल र सीबीच भेटवार्ता भइरहेको बेला अप्रत्याशित रुपमा मोदी प्रवेश गरेपछि वार्ता त्रिपक्षीय वार्तामा परिणत भएको थियो । सो वार्ताबारे बैठकमा एमालेका तर्फबाट सांसद भरतमोहन अधिकारीले त्रिपक्षीय वार्ताबारे प्रष्ट पार्न माग गरे। भने, ’त्रिपक्षीय वार्ता हुनु राम्रो हो। तर, भारतको विदेश मन्त्रालयले खण्डन गरेकाले यो विषयबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’
अधिकारीले प्रधानमन्त्रीले भेटवार्तालाई हलुका ढंगले लिएको बताए। विषय राम्रो भएपनि भारतीय पक्षको खण्डनले नकारात्मक सन्देश गएको अधिकारीले बताए ।
भेटवार्तालाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयोगलाई नेपालको पक्षमा अधिकतम प्रयोग गर्नु पर्ने र आफ्नो छाती गर्वले फुलेको प्रतिक्रिया दिएका छन् भने, नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिपक्षीय वार्ताबारे टिप्पणी गर्नु लज्जास्पद रहेको बताएका छन् । अध्यक्ष ओलीले भारतीय विदेश मन्त्रालयले नै त्रिपक्षीय वार्ता नभएको स्पष्ट पारिसकेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण वार्ता भनि प्रचार गर्नु गलत र अशोभनीय भएको टिप्पणी गरेका छन् ।
उनले बाटोमा भेट हुँदैमा त्रिपक्षीय वार्ता भयो भनि प्रचार गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
nekapa umale
