ताजा खबर राजनीति News

संविधान संसोधन छठ पछिमात्रै : प्रधानमन्त्री

संविधान संसोधन छठ पछिमात्रै : प्रधानमन्त्री

maobadi

असोज ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्व लगत्तै संविधान संशोधन गर्ने तयारी भइरहेको बताएका छन् । उनले संविधान संशोधनबारे प्रमुख विपक्षी नेकपा एमालेसहित सबै दलसँग सकारात्मक छलफल भइरहेको पनि बताए ।

बुधबार सिंहदरवारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले छठ पर्वलगत्तै संविधान संशोधन गरेर आगामी चैतमा स्थानीय निकायको चुनाव गराउने बताएका हुन् ।

‘संविधान संशोधन गर्नुपर्छ भन्नेमा सबै दल सहमत छन् । के–के कुरा संशोधन गर्ने भनेर कन्टेन्टमा छलफल भइरहेको छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेको भनाइ उद्धृत गर्दै सांसद रेखा शर्माले भनिन, ‘संविधान संशोधन गरेर चैतमा जसरी भएपनि चुनाव गराउनुपर्छ भन्नुभयो ।’

बैठकमा प्रचण्डले सिमांकन, नागरिकता लगायतका विषयमा संविधान संशोधनको गृहकार्य भइरहेको बताएका थिए । सिमांकनबाहेक अन्य विषयमा संशोधन प्रक्रियामा खासै समस्या नहुने उनले विश्वास व्यक्त गरे ‘सिमांकनको कुरा अलिकति जटिल हुन सक्छ अरु विषय त सहजै टुंगो लाग्ने देख्छु,’ प्रचण्डले बैठकमा भनेका थिए ।बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे कांग्रेस, एमाले, मधेसी मोर्चा लगायतसँग छलफल भइरहेको बताए । प्रचण्डले दलको बैठकमा भने, ‘सरकारले दलहरुसँग परामर्श नै गरेन भन्ने होइन ।’

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो गोवा भ्रमण, ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलनबारे जानकारी पनि गराएका थिए । गोवा भ्रमण सफल, उपलब्धीपूर्ण र नेपालका लागि सुखद भएको उनले बताए ।

PM Maobadi Puspakamal Dahal

विशेष