तातोपानीमा नुहाउन पालो कुर्नुपर्ने, यस्ताे छ समय तालिका

कात्तिक ३ । म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा नुहाउनेको संख्या बढ्दै गएपछि नयाँ तालिका निर्माण गरिएको छ । अनुकूल मौसम तथा दसैँ तिहारको लामो बिदा परेकोले पनि कुण्डमा नुहाउन आउनेको संख्या बढेको हो ।
प्राकृतिक चिकित्सालयको रुपमा पहिचान बनाउँदै गएको बेनपा–१३ स्थित तातोपानी कुण्डमा बिरामीको भीड बढेपछि समयतालिका निर्धारण गरिएको हो । आइतबारदेखि लागू गरिएको रुटिनअनुसार महिला र पुरुषलाई छुट्टाछुट्टै समयमा नुहाउने व्यवस्था मिलाइएको छ । कुण्डमा भीडभाड बढेपछि बिरामीलाई सहज होस् भनेर प्रत्येक दिनको दुईदुई पटकसम्म पुरुष र महिलाका लागि समय तालिका बनाएर लागू गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
यस्तो छ तालिका
बिहान ६ बजेदेखि ९ बजेसम्म पुरुष
९ बजेदेखि १२ बजेसम्म महिला
दिउँसो १२ बजेदेखि साढे २ बजेसम्म पुरुष
साढे २ बजेबाट साढे ४ बजेसम्म महिला
कुण्डमा डुब्न दैनिक झण्डै दुई सय जनाले टिकट लिने गरेका छन् । जमिनमुनिबाट ४८ डिग्री सेल्सियसको तापक्रममा बिरेनुन (सल्फर)को स्वादसँगै निस्कने तातोपानी कुण्डमा डुबेर रोग निको हुने विश्वासले वर्षेनी बिरामीको सङ्ख्या बढ्दै जान थालेको छ । कुण्डमा म्याग्दीसहित रुकुम, रोल्पा, बाँके, बर्दिया, दाङ, सल्यान, कपिलबस्तु, चितवन, कास्की, काठमाडौंलगायत भारतबाट समेत बिरामीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटकका साथै पछिल्लो समय विदेशका विभिन्न देशबाट पनि विदेशीहरु कुण्डमा स्नान गर्न आउने गरेका छन् ।
देशभित्र र बाहिर ठूला अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएका बिरामीहरु तातोपानी कुण्डमा आएर डुबेपछि रोग निको भएको र पटपटक आउने गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । कुण्डमा डुबेर रोग निको हुँदै गएपछि वर्षेनी स्वदेश तथा विदेशबाट आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ भने एउटै व्यक्ति धेरैपटक आएर डुब्ने गरेको उहाँको भनाई छ । तातोपानी कुण्डमा खासगरी भदौ महिनादेखि फागुनसम्म बिरामीको भीड लाग्ने गरेको छ ।
यसवर्ष पनि असोज महिनादेखि दैनिकजसो बिरामीको चाप बढेको छ । खासगरी दसैँपछि विदा मनाउन तथा विभिन्न रोगबाट ग्रसित बिरामीहरु तातोपानी आएका छन् । कुण्डमा स्नानका लागि आउने बिरामीहरुलाई दुईसय रुपैयाँको टिकटमा १० दिनसम्म डुब्ने व्यवस्था मिलाइएको समितिले जानकारी दिएको छ । गएको तीन वर्षदेखि ग्यास्ट्रिक रोगबाट ग्रसित भई तातोपानीमा डुबेमा निको हुने विश्वासले आफू कुण्डमा डुब्न आएको पोखरा पस्र्याङका प्रेम शर्माले बताए । तातोपानीमा डुबेपछि बाथ, युरिक एसिड, ग्यास्ट्रिक, हाडजोर्नी दुख्ने, नशासम्बन्धी रोग, सड्के, मर्केको तथा चिसोका कारणले हुने सबै प्रकारका रोगहरु निको हुने विश्वास रहिआएको छ । - उज्यालो
Myagdi
samaya talika
Tatopani



