कला साहित्य News

नोबेल पुरस्कार विजेता सम्पर्क मै आएनन्

नोबेल पुरस्कार विजेता सम्पर्क मै आएनन्

bob

कात्तिक ४ ।  यस वर्षको साहित्य बिधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन् ।नोबेल पुरस्कार समितिले यी अमेरिकी श्रष्टालाई सम्पर्क गरी विजयको घोषणा र पुरस्कारको राशि बताई पुष्टि गर्ने प्रयास पनि त्यागिसकेको जनाइएको छ ।

स्वीडेनको नोबेल पुरस्कार प्रतिष्ठान (स्वीडिस एकेडेमी) का स्थायी सचिव सारा डेनियसले “अहिले त हामी केही पनि गर्न पाइरहेका छैनौँ । बबका निकटतम म्यानेजर, मित्र सहकर्मीहरूलाई धेरै पटक फोन सम्पर्क गरी इमेल पठाउँदा उहाँहरूले निकै आत्मीय जवाफ फर्काउनु भएको तर, बबसँग हालसम्म सम्पर्क नै कायम भएन” भनिन् ।

स्वीडिस एकेडेमीका प्रशासनिक निर्देशक अड् स्किड्रिचले पनि पुरस्कार विजेता बब डाइलानको अत्तोपत्तो नभएको र कुनै जवाफ पनि नदिएकाले उहाँसँग सम्पर्क गर्ने प्रयास हिजोदेखि त्यागेको सीएनएन टेलिभिजनलाई बताए ।

गत बिहीबार राति, साहित्य बिधाको नोबेल पुरस्कार प्रदान गरिएको घोषणा भएको दिन बब डाइलान अमेरिकाको लस भेगासमा एक साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नमा ब्यस्त थिए । तर कार्यक्रमभर उनले पुरस्कार प्रदान गरिएकोबारे एक शब्द पनि उच्चारण गरेनन् । त्यस्तै भोलिपल्ट शुक्रबार उनले अमेरिकाकै कोआचेला नगरमा अर्को साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे ।

त्यहाँ पनि उनले पुरस्कार प्रदान गरिएकोबारे कुरै उठाएनन् । बरु, त्यही मञ्चमा अर्को ब्याण्डका मित्रहरूले उनलाई बधाई दिँदै उनको अतुलनीय उपलब्धिबारे निकैबेर चर्चा र प्रशंसा गरे, तर उनी भने निशब्द मौन बसे ।

नोबेल पुरस्कारबारे डाइलानको मौनताले आगामी डिसेम्बरमा आयोजना गरिएको पुस्कार वितरण समारोहमा उनको उपस्थितिको सम्बन्धमा प्रश्न चिह्न खडा गरेको छ ।

“केही छैन, उहाँलाई आउन मन नलागे नआउनु भए पनि हुन्छ, तर हामी सदैव उहाँलाई सम्मान गर्न भने चुक्दैनौं” सचिव डेनियस भन्छिन् । सन् १९४१ मे २४ का दिन डुलुथ, माइनसोटामा जन्मिएका हाल ७५ वर्षीय डाइलान एक उत्पादनशील सङ्गीतज्ञ हुन् ।

उनले सङ्गीत बिधामा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २०१२ को मे २९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा ह्वाइट हाउसमा प्रदान गरिएको “प्रेसिडेन्सियल मेडल अफ फ्रिडम” तक्माबाट उनी विभूषितसमेत छन् ।

अमेरिकी नागरिकलाई प्रदान गरिने उत्कृष्ट सम्मानमध्ये यस तक्माको नाम अग्रस्थानमा आउँछ । राष्ट्रपति ओबामा स्वयं आफू पनि डाइलानको एकजना फ्यान भन्न रुचाउनु हुने जनाइएको छ ।

Bob Dylen

विशेष