News

'कार्कीमाथि महाअभियोग लगाउनेबारे कांग्रेससँग कुनै दलले छलफल गरेनन्' - नेता साउद

'कार्कीमाथि महाअभियोग लगाउनेबारे कांग्रेससँग कुनै दलले छलफल गरेनन्' - नेता साउद
कात्तिक ४ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनेबारे नेपाली कांग्रेससँग कुनै दलले छलफल नगरेको बताएका छन् । np-saud रिपोर्टर्स क्लब नेपालले बिहीबारआयोजना गरेको साक्षात्कारमा नेता साउदले कार्कीलाई अभियोग लगाउने वा नलगाउने भन्नेबारे आजदेखि बस्ने केन्द्रीय समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारे । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले कानुनलाई ठाडो चुनौती दिई पूर्वाग्रही तरिकाले कार्की चलेकाले उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्नुपरेको बताए । ज्ञवालीले कार्कीको नियुक्ति नै उपयुक्त नभएको जनाउँदै एमालेले सुरुदेखि नै आवाज उठाउँदै आएको बताए । उनले भने, “कार्कीमाथि लगाइएको महाअभियोगका सन्दर्भमा नेकपा एमालेको पूर्ण साथ र समर्थन रहन्छ ।” नेकपा माओवादी केन्द्रका नेता एवम् महाअभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीले कार्कीले सञ्चालन गरेका हरेक कदम राष्ट्रको हकविपरीत रहेकाले उहाँमाथि महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताए । “कार्कीले भ्रष्टाचारलाई नियन्त्रणभन्दा प्रश्रय दिएको, आफूविरुद्ध लाग्ने व्यक्तिलाई कारबाही गरेको, जिम्मेवारीबोधलाई बेवास्ता गरेको, अनुशासन समितिले बोलाउँदा बिरामी परेको भन्ने तर विभिन्न कार्यक्रममा जाने, पदीय इमान्दारीलाई उल्लङ्घन गरेको जस्ता कारणले हटाउन लागेका हौँ ”–शाहीले भने । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरीले भ्रष्टाचारलाई नियन्त्रण गर्न आयोग बलियो हुनुपर्ने बताउँदै आयोग व्यक्तिगत स्वार्थभन्दा देशको हितमा काम गर्नुपर्ने बताए । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राजनीतिक दलका नेताहरुले महाअभियोग लगाउनेबारे सोच्नुभन्दा संविधान कार्यान्वयन गरी मुलुकलाई समाधान दिने बाटालाई प्राथमिकता दिनुपर्ने बताए । रासस

lokman singh karki NP Saud

विशेष