झुक्याएर हस्ताक्षर गराई महाअभियोगको प्रस्ताव ल्याइएको भन्दै माओवादी केन्द्रका सांसदले उर्जामन्त्री जनार्दन शर्मालाई झण्डै कुटे

कात्तिक ५ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध बुधबार संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा उर्जामन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत थाहा नदिइ माओवादी सांसदहरुलाई हस्ताक्षर गराएको खुलेको छ । आफुलाई थाहै नदिइ प्रस्ताव आएपछि दाहालले त्यो रात प्रधानमन्त्रीबाट राजिनामा दिने मनस्थितिमासमेत पुगेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बताएका छन् ।
माओवादी केन्द्रसम्बद्ध एक उच्च स्रोतका अनुसार बिहिबार दिउँसो तीन बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा झुक्काएर हस्ताक्षर गराएको भन्दै मन्त्री शर्मामाथि अधिकांश सांसद खनिएका थिए । ‘अध्यक्ष प्रचण्ड नभएको भए शर्मामाथि आक्रमण नै हुन्थ्यो’, स्रोतले भन्यो ।
आफ्ना जिल्लामा बिजुलीको पोल, ट्रान्समिटर र तार माग गर्न भनी उर्जामन्त्री शर्माले ४८ जना सांसदहरुलाई हस्ताक्षर गराएको र त्यही हस्ताक्षर महाअभियोग प्रस्ताव दर्ता गर्न प्रयोग गरिएको बताइएको छ।
एमाले अध्यक्ष केपी ओलीसँग प्रारम्भिक छलफल भए पनि कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा आफ्नै पार्टीका सांसदले हस्ताक्षर गरेको प्रधानमन्त्री दाहाललाई समेत जानकारी थिएन । स्रोतका अनुसार प्रस्ताव दर्ता गर्ने बेलामा मात्र थाहा पाएका दाहाल अन्ततः लोकमानलाई हटाउने पक्षमा गएका हुन् ।
बैठकमा प्रधानमन्त्री दाहालले लोकमानविरुद्ध महाअभियोग दर्ता भएपछि ‘आफ्नै पार्टीका सांसदहरु नै आफ्नो विरुद्ध गएछन’ भन्ने लागेको सुनाए । ‘रातभरी सोच्दा अब प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ,’ बैठकमा दाहालको भनाइ उद्धृत एक सांसदले भने, ‘बिहान मात्र झुक्याएर हस्ताक्षर गरेको मलाई थाहा भयो, मेरो विरुद्धमा होइन रहेछ भन्ने थाहा भएपछि मात्र हल्का महसुस भयो।’
‘मैले ओली नेतृत्वको सरकारकै पालामा कार्कीविरुद्ध महाअभियोग लगाउन प्रस्ताव गरेको थिएँ’, दाहाललाई उद्धृत गर्दै माओवादीका अर्का सांसद तथा पूर्व मन्त्रीले भने, ‘उतिबेला केपी ओलीजी मान्नुभएन, अहिले सर्वोच्चमा कार्कीको मुद्धा चलिरहेको हुनाले अदालतको निर्णय पर्खेर कार्कीप्रति कदम चाल्ने सोच थियो, तर मलाई नै जानकारी नदिइकन हाम्रा साथीहरुलाई समेत प्रयोग गरेर फसाउने काम भयो ।’ स्रोतका अनुसार बैठकमा दाहाल आक्रामक रुपमा खुलेर प्रस्तुत भएका थिए । उनले आफु पहिलो पटक प्रधानमन्त्री हुँदा घटेको कट्वाल काण्डसँग तुलना गर्दै लोकमान प्रकरण पनि त्यस्तै गम्भिर रहेको र सरकार समेत ढल्न सक्ने संकेत बैठकमा गरे । ‘कट्वाल काण्डमा आफैँले सोचेर कदम चालेको थिएँ, अहिले त पार्टीका साथीहरु नै मेरो विरुद्धमा गएछन् भन्ने लाग्यो’, दाहालले भने ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि माहोल कार्कीलाई फाल्नै पर्ने बनेको भन्दै दाहालले तर पार्टीको बैठकले निर्णय गरेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्नु पर्ने बैठकमा बताएका छन् ।
एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याउन उर्जामन्त्री शर्मा माओवादी सांसद महेन्द्र शाही र अमनलाल मोदीको साथ लिएर सक्रिय भएका थिए । माओवादी अब महाअभियोग प्रस्तावबाट पछाडि फर्कने अवस्था नरहे पनि पार्टीमा चाहीँ मन्त्री शर्मासहित ‘षड्यन्त्रमा सहभागी’ सांसदहरूमाथि छानविन गरी कारबाही गरिनु पर्ने माग केही सांसदले उठाएका छन् ।
माओवादी सांसद महेन्द्र बहादुर शाहीको प्रस्तावमा एमालेका सचेतक भानुभक्त ढकाल समर्थक बसेर बुधबार साँझ कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।प्रधानमन्त्री दाहालले आफू भारतको गोवामा भएको बेला एमालेले माओवादीलाई फसाउन यस्तो चाल चलेको बैठकमा बताएका छन् । ‘प्रचण्डविरुद्ध छानविन अगाडि बढाए जसरी पनि हामी तपाईंलाई जोगाउँछौ भन्दै म विरुद्ध कार्कीलाई एमाले नेताहरुले उचालेछन’, दाहालले बैठकमा भने, ‘कार्की तयार नभएपछि एमालेले उनलाई नै हटाउने डिजाइन तयार गरेको रहेछ ।’
तर अख्तियार स्रोतका अनुसार कार्कीको निर्देशनमा मेडिकल कलेजसम्वद्धसहित एमालेका १० नेतामाथि छानविनको तयारी गरेको सूचना पाएपछि एमाले कार्कीविरुद्ध महाअभियोग दर्ता गराउन अग्रसर भएको थियो ।
माओवादी स्थाई समितिका एक सदस्यका अनुसार महाअभियोग प्रस्तावले सरकारको नेतृत्व गरिरहेको पार्टी संकटमा फसेको छ । कार्की विरुद्धमा परेको महाअभियोगलाई पार नलगाउने हो भने पार्टीमाथि कार्कीलाई बोकेको आरोप फेरि लाग्ने छ । महाअभियोग प्रस्तावमा अगाडि बढ्ने हो भने पार्टीको नीति नियमभन्दा बाहिर गएर भएको अराजक खेलको समर्थन हुने अवस्था छ ।
Janardan Sharma