News

घाइते वन्यजन्तु बोक्ने एम्बुलेन्स राजधानीका सडकमा

घाइते वन्यजन्तु बोक्ने एम्बुलेन्स राजधानीका सडकमा
कात्तिक - ५ । राजधानीका सडकमा शुक्रबारबाट वन्यजन्तु बोक्ने एम्बुलेन्स (गाडी) चल्ने भएको छ । मानवीय बस्ती र आसपासमा चितुवा, स्याललगायत वन्यजन्तु आएर सताउने र बेलाबखत घाइते वन्यजन्तु भेटिन थालेपछि तिनको उद्धारका लागि वन कार्यालय, काठमाडौंले ‘वन्यजन्तु उद्धार एम्बुलेन्स’ चलाउन लागेको हो । amblence राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गत विश्व बैंकको सहयोगमा सञ्चालित स्ट्रन्थेनिङ रिजनल कोअपरेसन फर वाइल्डलाइफ प्रोटेक्सन इन एसिया (आईडीए प्रोजेक्ट)ले काठमाडौं वन कार्यालयमा रहेको ‘वन्यजन्तु अपराध नियन्त्रण केन्द्र’लाई एम्बुलेन्स शुक्रबार बिहान हस्तान्तरण गर्दै छ । करिब ३३ लाख ८० हजार रुपैयाँमा खरिद गरिएको उक्त एम्बुलेन्स वन कार्यालय परिसर हात्तीसारमा रहनेछ । ‘कहीं कतै मान्छे र वन्यजन्तुबीच द्वन्द्व भई वन्यजन्तु घाइते भयो भने उपचारका लागि उद्धार केन्द्रसम्म ल्याउन यो गाडी उपयुक्त हुनेछ,’ काठमाडौंका वन अधिकृत (डीएफओ) डा. इन्द्रप्रसाद सापकोटाले कान्तिपुरलाई भने, ‘गाडीमै तत्काल उपचारका लागि आवश्यक औषधि र भेटेरिनरी चिकित्सक पनि हुने भएकाले घाइते वन्यजन्तुलाई बचाउन सकिन्छ ।’ सापकोटाले कसैले कहीं घाइते वन्यजन्तुबारे जानकारी दिए उद्धारका लागि तुरुन्तै उक्त एम्बुलेन्स पठाइने बताए । मानवीय बस्ती र सहरी क्षेत्रमा कुनै पनि प्रजातिको वन्यजन्तु निस्किएर दुस्ख दिएको अवस्थामा त्यसलाई डार्ट (लठ्याएर) गरी उद्धार केन्द्रसम्म लैजान पनि उक्त गाडी प्रयोग गरिनेछ । सापकोटाका अनुसार त्यसरी उद्धार गरिएका वन्यजन्तुलाई अहिलेका लागि चिडियाखानामै उपचारको व्यवस्था मिलाइएको छ भने भेटेरिनरी चिकित्सकका रुपमा त्यहींका राधाकृष्ण घर्तीलाई परिचालन गरिनेछ । यस्तै, यसै आर्थिक वर्ष्भित्र घाइते वन्यजन्तुको उद्धार र उपचारका लागि राष्ट्रिय निकुञ्ज विभागले वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि स्थान पहिचान र अन्य आवश्यक व्यवस्थापनसहित योजना पेस गर्न वन मन्त्रालयले विभागलाई निर्देशन दिएको छ । मुलुकका सबै निकुञ्ज र आरक्षमा वन्यजन्तु उद्धार केन्द्र र प्राथमिक उपचार केन्द्र स्थापना गरिने भएको छ । वन मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेलले वन्यजन्तुको उद्धार, उपचारका लागि कम्तीमा तीन वटा वन्यजन्तु एम्बुलेन्स खरिद प्रक्रियाका लागि कार्यक्रम पेस गर्न निकुञ्ज विभागलाई निर्देशन दिइएको बताए । यस्तै, निकुञ्ज आरक्ष वा त्यो बाहिर बिरामी वन्यजन्तुको उपचार र वन्यजन्तु घरपालुवा जीवजन्तुबीच हुने संक्रमणको प्रकोप न्यूनीकरणका लागि आवश्यक पशु चिकित्सकको दरबन्दीबारे पशुपन्छी मन्त्रालयसँग समन्वय गरी प्रतिवेदन पेस गर्न पनि विभागलाई भनिएको छ ।

Ambulence banyajantu kathmandu

विशेष