बाबुरामको सन्देश दिल्लीलाई– मलाई भूमिका दे नत्र लोकमान हटाउन पहल गर्छु
भरत दाहाल, राजनीतिक विश्लेषक
अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका विषयमा जे जस्ता विषयहरु अहिले आएका छन् यी बाहिरी कुराहरु मात्रै हुन् । यो प्रकरणमा भारतीय र पश्चिमा शक्ति केन्द्रहरुको भित्री खेल शुरु भइसकेको छ ।
लोकमानको प्रकरण आकस्मिक आउनु अनि बाबुराम भट्टराईको छेपारे रङ बाहिर आउँदा मानिसहरु छक्क परेका छन् । लोकमानलाई नियुक्ति गर्ने बेलामा बाबुराम नै थिए नम्बर एक पहलकर्ता । अहिले उनी पनि महाभियोग लगाएर हटाउनु पर्छ भनिरहेका छन् । बाबुरामको यस्तो रङ देखेर अनौठो नमाने हुन्छ । किनभने बाबुरामले यस्तो गर्नु पछाडि विशेष कारणहरु छन् । जुन सबैले थाहा पाउँदा राम्रो हुन्छ ।
बाबुराम नेपालमा बसेर भारतका लागि काम गर्ने भारतको ‘र’–कांग्रेस आई गठबन्धनका उत्पादन हुन् । यीनको भूमिका भारतमा विजेपीले चुनाव जितेपछि नवीकरण भएन । विजेपी भनेको कट्टर हिन्दुवादी पार्टी हो । तर बाबुराम भनेका अमेरिकी क्याथोलिक ब्यानरसँग नजिक हुन् । जसको सम्बन्ध कांग्रेसआइसँग पनि छ । तर जब विजेपीले चुनाव जित्यो बाबुरामको भूमिका नवीकरण गर्दा यीने विजेपीको निर्देशनमा काम गर्नेमा विजेपी विश्वस्त हुन सकेन । अहिले कांग्रेसआइले बनाएको संरचना भत्काएर विजेपी ब्यूरोक्रेसीमा आफ्नो संरचना बनाउँदैछ । कांग्रेसआइले राखेको व्यक्तिलाई उनीहरुले पत्याउने कुरै भएन ।
जब भारतमा विजेपीले चुनाव जित्यो–त्यसपछि बाबुरामले हिसिलालाई दिल्लीमा एक महिना राखेर सम्बन्ध नवीकरणका लागि प्रयास गरेका थिए । सम्बन्ध नविकरण भएन । हिसिला हिस्स परेर फर्किन् ।
१२ बुँदे गराउने एसडी मुनी, श्यामशरणलगायत भारतीय जासुस/अधिकारीहरुले दुई वर्ष अगाडि फागुन १८ गते एक अन्तरक्रिया राखे । त्यसमा भट्टराईलाई पनि निम्ता गरियो । त्यो अन्तरक्रियामा भारतको मन जित्न बाबुरामले भने, ‘मोदीको आलोचना गर्ने नेपाली पाखण्डी हुन् ।’
बाबुरामको त्यो छेपारे रङबाट भुक्तभोगी भारतको ब्यूरोक्रेसीले उनलाई पत्याएन । त्यसपछि जब भारतले नाकाबन्दी लगायो, तत्कालीन प्रधानमन्त्री केपी ओली भारतमाथि जाई लाग्न थाले । भारतको हेपाहा शैलीलाई चुनौती दिँदै ओलीले चीनसँग पनि सम्बन्ध बढाउन थाले । केही सम्झौता पनि गरे । केपी ओलीको त्यो कदम राष्ट्रहितमा भए पनि भारतहितमा थिएन । त्यो अवस्थामा बाबुरामले भने, ‘केपी ओलीले भारत–चीनलाई लडाउने गम्भीर षडयन्त्र गरिरहेका छन् । ’
भट्टराईले यसो भन्नुको भित्री कारण भारतलाई खुसी पारेर आफ्नो भूमिका ब्यूँताउनु थियो । त्यसले पनि काम चाहिँ गरेन । अहिले बाबुरामसँग शक्ति बिनाको बनिनसकेको नयाँ शक्ति छ । राजनीतिमा प्रभाव खस्कँदो छ । टेक्ने समाउने भारत थियो, त्यसले पनि पत्याएन । अब के गर्ने ?
यो अवस्थामा उनले भारतको ढाडसमा नियुक्ति पाएका लोकमानलाई हटाउने अभियानमा सामेल भएर भारतलाई घुक्र्याउने बाटो भट्टराईले समाएका हुन् । यो भन्दा बढी केही होइन । लोकमान ठीक छैनन् भन्ने नेपालका बच्चा बच्चाले थाहा पाउँदा पिएचडी गरेका बाबुरामले थाहा नपाएका हुन् र ? तर लोकमान र बाबुरामको धारा त्यसबेलासम्म एउटै थियो । अहिले लोकमान जुनधाराको पानी पिइरहेका छन्, त्यो धारा बाबुरामका लागि बन्द भयो । यहि भएर अहिले बाबुरामले लोकमानको विरोध गरेर दिल्लीलाई सन्देश दिइरहेका छन्, त्यो सन्देश हो– मलाई भूमिका दे नत्र अप्ठ्यारो पार्छु ।
बाबुरामबाहेक पनि लोकमानको विरोधमा उत्रिने ठूलो जमात छ । गोविन्द केसी, विवेकशील नेपाली, कनकमणि दीक्षित, पत्रपत्रिकालगायतको क्रियाकलाप पनि देख्न सकिन्छ । गोविन्द केसीको नियतमाथि मलाई चाहिँ शंका लाग्दैन । तर उनको आदर्शको काँधमाथि राखेर आफ्नो स्वार्थको बन्दुक चलाउनेहरु धेरै छन भन्नेमा दुईमत छैन । लोकमानविरोधी यो समूह पश्चिमा शक्ति केन्द्रबाट परिचालित हुन् भन्नेमा लाग्छ ।
अहिले अर्को आश्चर्यजनक कुरा पनि देख्न सकिन्छ । अहिले एमाले, माओवादी र कांग्रेसका ठिटा केटा नेताहरु खुब क्रान्तिकारी भएर निस्केका छन् । लोकमानविरुद्ध चर्को आवाज उठाइरहेका छन् । तर यीनीहरु तिनै लोकमानलाई नियुक्त गर्न भूमिका खेल्ने आफ्ना नेताविरुद्ध चुइक्क एक शब्द बोल्न सक्दैनन् । यस्ता पक्षपाती आवाज सुनेर दिक्क लाग्छ । यीनलाई के अर्थमा युवा नेता भन्नु पर्ने हो थाहा छैन । अब मधेसवादीको कुरा गरौं । यीनीहरु खुलेआम भारतीय ब्यानरबाट बोल्छन्, गर्छन् । नेपाल त यीनीहरुले राजनीति गर्ने थलो मात्रै हो । जनता त भोट बैंक मात्रै हुन् ।
अब प्रचण्डको कुरा गरौं । प्रचण्डले आफ्ना नेताहरुलाई एमालेले फसायो भनेका छन् । यी नेता पनि लाज हराएकै हुन् । कांग्रेस यदि महाभियोगका पक्षमा खुलेर आयो भने यी पनि खुलेरै आउँछन् । कसैलाई दोष लगाउँदैनन् । क्यानडाबाट फर्कदा फर्कँदै लोकमानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरियो । लोकमानले एक दिन काम गर्न पाएको भए प्रचण्डविरुद्ध नै मुद्धा दर्ता हुन सक्थ्यो । त्यस्तो भएको भए यो सरकार तुरुन्तै ढल्थ्यो । त्यो सूचना पाएरै आफ्नो जागिर जोगाउन र भ्रष्टाचार लुकाउन लोकमानविरुद्ध प्रचण्ड लागे । अनि अहिले जनतालाई मुर्ख बनाउन एमालेले फसायो भनिरहेका छन् ।
लोकमानले प्रचण्डलाई दिनसम्म दुःख चाहिँ दिएकै हुन् । प्रचण्ड भारतमा हुँदा यता पत्रकार सम्मेलन गरेर फाइल खोल्ने धम्की दिए । प्रभावशाली २६ जनामा एमालेका धेरै जनालाई कारबाही गर्ने धम्की दिए । कारबाही प्रक्रिया अगाडि बढाएनन् । प्रचण्डको केसमा लोकमानको सन्देश थियो– ‘भारतले भने जसरी काम नगर्नु नत्र लडाकु शिविर काण्डमा थुनिदिन्छु ।’ त्यो निरिहताले नै प्रचण्डले भारतको इच्छाअनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोके । भारतले भनेअनुसारको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे ।
महाभियोग पास हुँदैन यति सबै भएर पनि लोकमानविरुद्धको महाभियोग प्रस्ताव पास चाहिँ हुँदैन । अहिले नै माओवादीका ३५ सांसदले विमती राखिसके । भोलि एमालेबाट पनि त्यस्तै आउँछ । मधेसी मोर्चाको त कुरै नगरौं । राप्रपा नेपालले अध्ययन गर्ने भनेको छ । भारतले अब खेल्न चाल भनेको लोकमान फाल्न दिने र संविधान संशोधन आफूअनुकुल गराउने हो । भारतले अब दलहरुलाई भन्ने छ– ‘लोकमानलाई हटाए पनि हुन्छ, तर संविधान संशोधन मैले भनेअनुसार हुनुपर्छ ।’ (राजनीतिक विश्लेषक दाहालसँग गरिएको कुराकानीमा आधारित)