प्रहरी इन्सपेक्टर भन्दै ठगी गर्ने पक्राउ
कात्तिक ७ । प्रहरी इन्सपेक्टर रहेको बताउँदै ठगी गर्दै हिड्ने एक व्यक्ति पक्राउ परेका छन् । दमौलीमा केही दिनयता विभिन्न पसल तथा व्यक्तिहरुसँग आफु प्रहरी इन्सपेक्टर भएको भन्दै नगद तथा सामान असुल्ने काम गरेका सुनसरी धरान–१४ घर बताउने ३० वर्षका कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
केही वर्ष अघि समेत दमौलीका व्यवसायीहरुलाई झुक्याइ उनले नगद तथा सामान लगेका थिए । केही दिनयता दमौली भित्रिएका उनले फेरि पनि केही व्यवसायीहरुलाई झुक्याएर नगद असुल्ने प्रयास गरेका थिए । शनिबार केही पसलेलाई ठग्ने प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
अत्याधिक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका उनीबारे अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक मनोज पाण्डेले बताए । उनले हालसम्म कसैले उनीबारे उजुरी नदिए पनि अनुसन्धान भने थालिएको जानकारी दिए ।
व्यास–२ अनशन चौतारा नजिकैको आले किराना पसलमा तेल, मञ्जन लगायतका सामान लगेर पैसा नतिरी हिड्न खोजेका ती व्यक्तिलाई गत वर्ष ठगिएका एक होटल व्यवसायीले चिनेपछि उनी हच्केर भागेका थिए ।
Damauli
hatkadi
inspecter bhandai thagi garne pakaru