ताजा खबर प्रवास रोजगार News

घरेलु कामदार संस्थागत रुपमा विदेश जाने प्रक्रिया सुरु

घरेलु कामदार संस्थागत रुपमा विदेश जाने प्रक्रिया सुरु

Gharelu Kamdar

कात्तिक १० । घरेलु कामदार संस्थागत रुपमै वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु भएको छ । सरकारले संस्थागत रुपमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका जारी गरेको लामो समयपछि संस्थागत रुपमा नेपाली महिला घरेलु कामदार युएई र लेबनान गएका हुन् ।

गौशलास्थित अर्थ भिजन म्यानपावर सर्भिसेज प्रालिबाट संस्थागत रुपमा गत महिना एकजना महिला घरेलु कामदार लेबनान गएकी थिइन । मंगलबार थप दुईजना महिला युएई गएका छन् । राजधानीको सिनामंगलस्थित स्यारोन म्यानपावर सर्भिसेज प्रालिले दुई महिला कामदारलाई संस्थागत रुपमा युएई पठाएको हो । मंगलबार झापा गौरादह सीतापुरीकी मीना सुब्बा र बर्दिया तारातालकी कलावती चापागाई नेपाल एयरलाईन्सको उडानबाट त्यसतर्फ लागेका हुन् । सुब्बा ७ वर्षसम्म कुवेतमा कामगरी फर्केकी कामदार हुन् भने चापागाई पहिलो पटक वैदेशिक रोजगारीमा गएकी हुन् ।

दुईवर्षे भिषा अवधिका लागि गएका उनीहरुले मासिक तीन सय अमेरिकी डलर पारिश्रमिक पाउने जनाइएको छ । घरेलु कामदार भएकाले उनीहरुले आफूले कामगर्ने घरमा खान, बस्न पाउने छन् । युएई जान स्यारोन म्यानपावरबाट बिदाई हुनअघि उनीहरुले आफूहरु निःशुल्क रुपमा जान पाएको र प्रस्थान गर्नुअघिको तालिम खर्च पनि रोजगारदाताले नै व्यहोरिदिएको बताए ।

म्यानपावर कम्पनीका सञ्चालक श्यामबहादुर क्षेत्रीले अल वतन र अल मोमियाज भन्ने एजेन्सी मार्फत् नेपाली महिलाहरुले काम पाउने जानकारी दिए । नेपालीहरु महिला कामदार युएई लैजान दशवटा एजेन्सी युएईस्थित दूतावासमा सूचीकृत भएका छन् ।

म्यानपावर सञ्चालक क्षेत्रीले लामो समयको प्रयासपछि पहिलो पटक संस्थागत रुपमा महिला घरेलु कामदार पठाउन पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘संस्थागत रुपमा घरेलु कामदार नपठाउन विभिन्न अवरोधका वावजुद हाम्रो प्रयासले मूर्तरुप लियो यसमा खुशी लागेको छ ।’ संस्थागत रुपमा जान लागेका महिलाहरुलाई विदाई गर्न आएका घरेलु कामदार सरोकार समाज नेपालका महासचिव डी बी तामाङले नेपाल सरकारले जारी गरेको घरेलु कामदार सम्बन्धी निर्देशिका पहिलो कार्यान्वयनमा आएको भन्दै तिहार लगत्तै धेरै महिला कामदार संस्थागत रुपमा घरेलु कामदारको रोजगारीमा जाने स्थिति बनेको जानकारी दिए ।

युएई लगायत अन्य खाडी राष्ट्रमा नेपाली, भारतीय, पाकिस्तानी तथा बंगाली दलालले घरेलु कामदारको मोबाइल नम्बर पत्तालगाई पटक पटक सम्पर्क गरेर सुपरमार्केट लगायत अन्यत्र एक महिनामै ८०÷९० हजार कमाई हुने ठाउँमा काम खोजी दिने भन्दै काम गरिरहेको ठाउँबाट निकाल्ने र अलपत्र पारी शोषण गर्ने गरेका छन् । समाजका सल्लाहकार कमलदेव मल्लले यस्ता पक्षहरुमा पनि सचेत हुन महिलाहरुलाई सुझाव दिए ।

सरकारले २०७२ सालमै घरेलु कामदार संस्थागत रुपमा पठाउन प्रक्रिया शुरु गरेको हो तर विदेशस्थित नेपाली दूतावासहरुले सरकारद्वारा जारी निर्देशिका अनुरुप एजेन्सी दर्ता गर्ने लगायतका प्रक्रिया पूरा नगर्दा घरेलु कामदार जाने क्रम शुरु हुन सकेको थिएन । करिब तीन दर्जन म्यानपावर घरेलु कामदार पठाउन २५ लाख धरौटी राखी वैदेशिक रोजगार विभागमा सूचीकृत भएका छन् । वैधानिक प्रक्रिया शुरु नहुँदा हजारौं महिला भारत, बंगालादेश र श्रीलंकाको बाटो हुँदै र अधिकाशंलाई भिजिट भिषाबाट अवैधानिक रुपमा खाडीका विभिन्न मुलुकमा र्पुयाइएका छन् ।

Gharelu Kamdar

विशेष