चीनमा झुण्डिने रेलको परीक्षण
एजेन्सी–चीनले अर्को वर्षबाट सञ्चालनमा ल्याउने गरी तीन साताअघि झुण्डिने आकाशे रेलको परीक्षण गरेको छ । १८ मिटर लम्बाई र २ दशमलव ३ मिटर चौडाई रहेको यो रेल ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्नेछ । सिचुवान प्रान्तको छेङ्दुमा आकाशे रेलमार्ग निर्माण गरेको चीनले त्यहीँ छोटो दुरीको रेल परीक्षण गरेको हो ।
प्रतिघण्टा ४५० किलोमिटर दौडने बुलेट रेलदेखि तिब्बतमा विश्वकै उच्च भूभागमा दौडने रेल प्रविधिसमेत विकास गरेको चीनले हालैमात्र झुण्डिने रेलको सफल परिक्षण गरेको हो ।
यस्तो रेल सन् १९०३ मा जर्मनी र त्यसपछि जापानले प्रयोग गरिसकेको छन् भने यस्तो रेल निर्माण गर्ने चीन तेश्रो मुलुक बन्नेछ । यो रेल एक लिगे रेल हो, भूमीमा गुड्नेजस्तो दुई वटा लिग यसमा हुँदैन । यस प्रकारको रेल जनघनत्व धेरै भएको क्षेत्रमा यात्रुलाई ओसारपसार गर्नका लागि निकै सहज मानिन्छ । यो रेलबारे दुई प्रकारले बुझाउन सकिन्छ— एक, झुण्डिने एकलिगे रेल जुन एउटा ट्रयाकमा झुण्डिएर गुड्छ, यसलाई हवाई रेल पनि भन्न सकिन्छ । दुई, यो आफ्नै बडीले लिगलाई पुरै छोपेर गुड्ने रेल हो ।
यस प्रकारको रेल भूमिगत रेलभन्दा सुरक्षित हुने गर्दछ । यस रेलका अन्य विशेषताहरुमा लिकबाट उछिट्टिने संभावना न्यून, आवाज नआउने, प्रदूषणरहित, सानो क्षेत्र ओगट्ने, घना शहरमा प्रयोग गर्नु उपयुक्त हुने रहेको छ ।
सिचुवानमा गरिएको प्रारम्भिक परीक्षणमा सफल भएको यो रेल करीब २०० जना यात्रु क्षमताको रहेको छ । डिजाइनका लागि झण्डै ४ महिना समय खर्चिएर यो रेलको संरचना नानचिङ्ग प्रान्तमा तयार पारिएको हो । झट्ट हेर्दा यो पाण्डाजस्तो देखिने भएकाले निकै रोचक पनि हुनेछ । यो लिथियम ब्याट्रीद्वारा चार घण्टासम्म कुद्न सक्छ जसले विश्वमै पहिलो ब्याट्रीद्वारा सञ्चालित आकाशे रेलको रेकर्ड पनि राख्नेछ । यो रेलको दुर्गुण भनेको विमानजस्तै कुनै आपतकालीन स्थिति आइपरे हामफाल्न नमिल्नु हो ।