News

सरकारले रोजगारी र सीपमूलक कामबारे विशेष अभियान सञ्चालन गर्ने

सरकारले रोजगारी र सीपमूलक कामबारे विशेष अभियान सञ्चालन गर्ने
कार्तिक - १० प्रधानमन्त्री पुष्पकमल दाहालले वास्तविक गरिबलाई लक्षित गरेर सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र सीपमूलक कामबारे विशेष अभियान नै सञ्चालन गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) पर्वत जिल्लाको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले दुर्गम जिल्लाका पनि अन्त्यन्त गरिबको लागि रोजगारमूलक कामको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । विकासको दृष्टिले पछाडि परेको पर्वत जिल्लाको विकास र विविध स्थानीय समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिए । सरकार संविधान संशोधनको अन्तिम तयारी रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेमा जोड दिए । “संविधान संशोधनबारे छलफल भइरहेको छ, राजनीतिक समझदारीको आधारमा संशोधनपछि सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गर्नेछ”– प्रधानमन्त्री दाहालले भने । भेटमा माओवादी केन्द्र पर्वतका नेताद्वय नेत्रनाथ अधिकारी र कृष्ण पराजुलीले सहिद परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । त्यसैगरी हुम्ला जिल्लाका प्रतिनिधिसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले मुलुकको अन्त्यन्त विकट क्षेत्र कर्णालीको विकासको निम्ति सरकार प्रतिबद्ध रहेको बताए । सोही अवसरमा पूर्व सांसद कर्णजीत बुढाथोकीले अन्य जिल्लाभन्दा हुम्लालाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गरे ।

Parbat parbat district Prachanda

विशेष