लोकमानको कार्यालयमा लाग्यो ताला, सुरक्षा सचिवालय खारेज

कात्तिक ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अपराधको कसुरमा महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरेको छ । कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा बसेको आयुक्तहरूको बैठकले निलम्बित प्रमुख आयुक्त कार्कीको कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आयोग पदाधिकारी बैठकको निर्णयसँगै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले बुधबार नै कार्कीको सचिवालयमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता पठाई उनको सुरक्षा सचिवालय नै बन्द गरेका हुन् । सबै आयुक्तहरूले एकमतका साथ कार्कीको सुरक्षा सचिवालय र उनको कार्यालय बन्द गर्नुपर्ने मत राखेका थिए ।
सोही निर्णयअनुसार कार्यवाहक प्रमुख बस्न्यातले कार्कीले आफ्ना लागि बनाएका सुरक्षा सचिवालय खारेज गर्दै सचिवालयमा कार्यरत ११ जनामध्ये १० सुरक्षा अधिकारीलाई फिर्ता पठाइदिएका हुन् । ‘अब सुरक्षा आवश्यक छैन, नागरिकलाई धम्क्याउने कार्कीको सुरक्षा सचिवालयमा रहेका व्यक्तिलाई आयोगमा राख्नुहुन्न भन्ने निष्कर्षका साथ खारेज गरी फिर्ता पठाइएको हो,’ अख्तियारका एक आयुक्तले भने, ‘अख्तियारका नाममा एक व्यक्तिबाट विगतमा भएका सबै ज्यादती करेक्सन गर्ने कामलाई तीव्रता दिइएको हो ।’
अख्तियार स्रोतका अनुसार सुरक्षा सचिवालयमा कार्यरत डीएसपी दानबहादुर थापा, एक अधिकृत र एक नायब सुब्बाबाहेक सबैलाई लोकमानको विशेष सुराकी रहेको ठहर गर्दै सम्बन्धित कार्यालयमै फिर्ता पठाएको हो । अख्तियारले सचिवालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) हरू रञ्जन दाहाल, जयश्वर रिमाल, रञ्जन बस्नेत, ठगबहादुर केसी, सुरज बस्नेतलगायतका अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता पठाएको हो ।
सुरक्षा सचिवालयले कार्कीको आन्तरिक सुरक्षा प्रबन्ध मिलाउनुका साथै अख्तियारका सबैखाले फाइलको रेकर्ड राख्ने, कार्कीका तर्फबाट प्रस्टीकरण लेख्ने, उनका भाषणहरूको प्रारम्भिक मस्यौदा तयार पार्ने र कार्कीको ज्यादतीविरुद्ध आवाज उठाउनेको व्यक्तिगत फाइल बनाएर यातना दिनेसम्मको काम गर्दै आएको थियो
राजधानी
lokman